गीत मिलेपछि ‘बले’को चेतावनी–‘गुरुङ समाजको आडमा धम्की नदिनुहोला’

कलाकार सागर लम्साल ‘बले’ले आफ्ना पिता राजेन्द्र लम्साल र नारायण रायमाझीको स्वरमा समावेश तथा उजाड पौडेलको संगीत रहेको ‘छाडेर आए म’ बोलको गीतसँग एक महिना अगाडि रिलिज भएको ‘हावा सरर’ बोलको गीत हुबहु मिलेपछि आपत्ति जनाएका छन् । 

उनले गायक चिज गुरुङको युट्युब च्यानलबाट सार्वजनिक ‘हावा सरर’ बोलको गीत आफ्ना पिताको गीतसँग हुबहु मिलेपछि आफूले सम्बन्धित पक्षलाई जानकारी गराएको पनि उल्लेख गरेका छन् ।

सागरले लेखेका छन्–‘मैले सम्बन्धित पक्षलाई गीत सार्वजनिक भएको केही मिनेट मै जानकारी गराएको थिएँ । तर, सम्बन्धित पक्षबाट तपाई जे गर्न सक्नुहुन्छ गर्नुहोस्, मसँग मेरो समाज छ, मेरो तर्फबाट मेरो समाज लड्छ भन्ने जवाफ आयो । बजारमा चोरिएको संगीत भन्ने हल्ला नहुँदा सम्म शानसँग संगीतकारमा आफ्नो नाम राखेका चिज गुरुङले अहिले सबैले थाहा पाइसकेपछि युट्युबमा आफ्नो नाम हटाएर म्युजिकल कलेक्शन मात्र लेखी ठाउँ खाली राखेका छन् । चिज कुमारले युट्युबको विवरणमा आफ्नो नाम हटाए पनि भिडियोमा भने नाम यथावत् नै छ ।’

यो विषयमा लोक तथा दोहोरी गीत प्रतिष्ठानले मौन रहेकोमा समेत सागरले आपत्ति जनाएका छन् । उनले, यस विषयमा प्रतिष्ठानलाई जानकारी गराएपनि केही प्रतिक्रिया नआएको बताएका छन् । उनले प्रश्न गरेका छन्–‘अब जसलाई जे मन लाग्छ, चोरी गरि बजारमा नाम र दाम कमाउन पाइने हो ?’