‘प्रकाश’का लेखक र निर्देशकले दायर गरेको रिट खारेज

पाटनको उच्च अदालतले ‘राष्ट्रिय चलचित्र पुरस्कार’ विरुद्ध फिल्म ‘प्रकाश’का निर्देशक दिनेश राउत र लेखक विकास सुवेदीले दिएको रिटलाई खारेज गरेको छ । न्यायाधीशद्वय लेखनाथ पौडेल र टीकाराम आचार्यको संयुक्त इजलासले मंगलबार उक्त फैसला गरेको हो । 

वि.सं २०८० सालमा चलचित्र विकास बोर्डले राष्ट्रपतिको हातबाट वितरण गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ वितरण गरेको थियो । सो पुरस्कारमा सर्वोत्कृष्ट फिल्मको घोषणा नै गरिएको थिएन ।

सर्वोत्कृष्ट फिल्मको नाम नै घोषणा नभएपछि ‘प्रकाश’का लेखक तथा निर्देशक अदालत पुगेका थिए । 

जुरीका एक सदस्यले आफूहरूले उत्कृष्ट फिल्ममा ‘प्रकाश’लाई सिफारिश गरेको तर बोर्डको नेतृत्वले नमानेको कुरा सार्वजनिक गरेका थिए । यसपछि, यो फिल्मका निर्देशक र लेखक उच्च अदालत पुगेका थिए । 

चलचित्र विकास बोर्डले विकास बोर्डका सदस्य रवि अधिकारीले ‘प्रकाश’लाई ‘उत्कृष्ट फिल्म’को अवार्ड दिन नमिल्ने भन्दै उजुरी दिएपछि यस्तो निर्णय गरिएको बताएको थियो ।