बैशाखका ५ फिल्मः एक सुपरहिट, अरुको व्यापार कस्तो रह्यो ?
नेपाली फिल्मका लागि वि.सं २०८१ सालको पहिलो महिना नै उत्साहजनक रह्यो । वैशाख महिनामा ५ फिल्म रिलिज भए । उसो त, ‘डिग्री माइला र रेड सुटकेस’ गतबर्षको अन्तिम दिनमा रिलिजमा आएका थिए । तर, यो बर्ष नै यी दुई फिल्मको व्यापारको हिसाब गर्न सकिन्छ ।
फिल्म ‘डिग्री माइला’ले ५ करोड माथिको ग्रस कलेक्शन गरेको हिसाब यसको निर्माणपक्षले सार्वजनिक गरेको थियो । यो फिल्मले जुन अपेक्षामा व्यापार गर्नुपर्ने हो, त्यो भने गर्न सकेन । तर, रामबाबु गुरुङ निर्देशित फिल्म असफल भने भएन । यसैले, फिल्ममाथिको अपेक्षा पुरा हुन नसकेपनि दयाहाङ राई र आँचल शर्मा अभिनित फिल्मले निर्मातालाई घाटा भने बनाएन ।
वैशाख १४ गते रिलिजमा आएको फिल्म ‘बोक्सीको घर’ भने सुपरहिट भयो । यो फिल्मले आजका दिनमा पनि दर्शकको राम्रो साथ पाइरहेको छ । निर्माणपक्षले ६ करोडपछिको व्यापार सार्वजनिक गरेको छैन । तर, केकी अधिकारी निर्मित तथा अभिनित फिल्मको व्यापार भने सबैलाई उत्साह भर्ने खालको रह्यो ।
फिल्म ‘मनसरा’ले पनि बक्स अफिसमा बम्पर व्यापार गर्ने अपेक्षा थियो । व्यापार अपेक्षित नभएपनि फिल्मले निर्मातालाई निराश भने बनाएको छैन । फिल्मको व्यापार पहिलो हप्ता भन्दा दोस्रो हप्ता अझै सुखद देखिएको छ । उपेन्द्र सुब्बा निर्देशित फिल्मले पनि घाटाको व्यापार नगर्ने पक्का छ । निर्माणपक्षले पहिलो सातामा फिल्मको व्यापार ३ करोड माथि रहेको जनाएको थियो ।
बैशाखमै रिलिज भएका ‘रेड सुटकेस र खजुरे ब्रो’ भने असफल भए । यी दुबै फिल्मबाट निर्मातालाई ठूलो घाटा लाग्ने देखिएको छ । हुनत, ‘रेड सुटकेश’ले विदेशबाट राम्रै पैसा कमाएकाले निर्माताले गरेको लगानी खेरा नजाने निश्चित छ । तर, नेपाली बक्स अफिसको हकमा भने फिल्म असफल रह्यो । ‘खजुरे ब्रो’ भने बक्स अफिसमा नराम्रोसँग असफल भयो । यसबाट निर्माताको लगानीको अधिकांश हिस्सा डुबेको छ ।
वैशाख महिना नेपाली फिल्मका लागि सुखद मान्नुपर्छ । अब, जेठ महिनामा पनि प्रतीक्षित फिल्महरू रिलिज हुँदैछन् । यसैले, वैशाख जस्तै जेठ पनि नेपाली फिल्मका लागि सुखद हुने अपेक्षा गर्न सकिन्छ ।
प्रतिक्रिया