एसएलसीमा दुईपटक फेल भएँ


८ वर्षको उमेरमा विद्यालय भर्ना भए

मैले क,ख,ग….घरबाट नै सिकेँ । मेरो बुवा शिक्षित हुनुहुन्थ्यो । जसले गर्दा उहाँले घरमै मलाई क देखि ज्ञ सम्म पढाउनुभयो । त्यसबेला अहिलेको जस्तोे नर्सरी एल्केजी हुदैँनथ्यो ।आधा कक्षा र एक कक्षा भन्ने हुन्थ्यो । तर, मचाहि ८ वर्षको उमेरमा दहचोकको श्रीकृष्ण माविमा कक्षा २ मा भर्ना भएँ । त्यसपछि मेरो विद्यार्थी जीवन सुरु भयो ।

एसएलसीमा फेल भएँ
मेरो बुवा कृषि विकास बैँकमा जागिरे हुनुहुन्थ्यो । त्यसैले गर्दा उहाँ जहाँ जानुभयो म पनि त्यहीँ जानुपर्ने अनि मैले बाध्यता थियो । यहक्रममा मेरो बुवाको सरुवा भयो । अनि मैले कक्षा ४ देखि ६ सम्म बागबजारस्थित सहिद शुक्र माविमा अध्ययन गरेँ । यहाँ पनि दुई वर्ष अध्ययन गरेपछि म फेरी भक्तपुरस्थित सिद्धार्थ बोर्डिङमा कक्षा ७ मा भर्ना भएँ । त्यहाँ मैले एक वर्ष मात्र अध्ययन गरेँ । त्यसपछि कालिमाटीको जनप्रभात माविमा कक्षा ८ मा भर्ना भएँ । त्यहाँ पनि ८ कक्षा मात्रै अध्ययन गरेँ । त्यसपछि फेरी म थानकोटस्थित प्रभात माविमा गएर कक्षा ९ मा भर्ना भएँ ।  त्यहाँबाटै मैले २०४१ सालमा एसएलसी दिए । तर, एसएलसी फेल भएँ । मैले २०४२ पनि एसएलसी कटाउन सकिन । २०४३ सालमा फेरी एसएलसि दिए । त्यो बर्षचाहि द्धितीय श्रेणीमा उत्तीर्ण भएँ । खुसीको सीमा नै रहेन ।

मेरो कुरा काटे
मेरो बुवाले गाउँमै पहिलोपटक एसएलसी पास गर्नुभएको थियो ।अनि शाखा अधिकृत पनि गाउँकै पहिलो हुनुहुथ्यो ।तर, मचाहिँ एसएलसी पटक पटक फेल हुँदा मेरो कुरा काट्ने थाले । मलाई सबैले लद्दु रहेछ भन्न थाले ।गाउँका अरु मान्छेले आफ्ना छोराछोरीलाई गाली गर्दा पनि धेरै बदमास नगर , राम्रोसँग पढ् फेरि दिपकजस्तो होलास् भनेर गाली गर्थे । दुईपटक एसएलसी फेल हुँदा निकै ठूलो बदमासी गरेछु जस्तो लाग्यो ।

एसएलसीपछि असफल हुनुपरेन
मंगलोदय बहुमुखी क्याम्पस थानकोटमा आइएमा भर्ना भएँ । मैले नेपाली र राजनीतिशास्त्र विषयमा अध्ययन गरेँ ।म एसएलसीपछिको पढाइमा धेरै ध्यान दिन थालेँ । जसले गर्दा म त्यसपछि पढाईमा असफल हुनुपरेन । मैले आइए पनि राम्रैसँग उत्तीर्ण गरेँ ।त्यसपििछ म स्नातक तहको अध्ययनका लागि रत्नराज्यलक्ष्मी क्याम्पस गएँ । जहाँ मैले नेपाली नाटक लिएर अध्ययन गरे । स्नातक पनि राम्रैसँग उत्तिर्ण गरेँ । त्यसपछि समाजशास्त्रमा स्नातकोत्तर गर्न खोजे ,तर कलाकारिताले छेक्यो ।

प्रहरी बनोस भन्ने बुवाको चाहना
मेरो बुवाको छोराले राम्रोसँग पढोस् भन्ने थियो । तर , म एसएलसीमा दुईपटक फेल भएपछि बुवाले मेरो विवाह गरिदिनुभयो । अर्काे कुरा बुवाको चाहना चाहि म प्रहरी भएको हेर्ने थियो । म प्रहरी गएँ । नाम पनि निस्कियो । तर , इच्छा नभएर तालिमको ७ दिनमै भागेँ । भागेर घर आएपछि बुवा निकै रिसाउनुभयो ।

नेविसंघ जिल्ला सदस्य भएँ
म कलेजमा अध्ययन गर्दा राजनीतिमा निकै सक्रिय थिए । नेविसंघको राजनीतिमा सक्रिय थिए । मंगलोदयमा अध्ययन गर्दादेखि नै म राजनितिमा सक्रिय हुन थालिसकेको थिए । यही क्रममा म आरआरमा अध्ययन गर्न आएँ । त्यसपछि राजनीतिमा झनै सक्रिय भएँ । सोहीवेला २०४७मा नेविसंघ काठमाडौँ जिल्लाको जिल्ला सदस्य भएँ । अनि मेरो कलाकारितातर्फको झुकाब पनि बढ्दै थियो । कलाकारितामा लागेपछि २०५२ बाट राजनीतिलाई पूर्णविराम लगाएँ ।

प्रहरीको लिस्टमा मेरो नाम
कलेजमा अध्ययन गर्दा विभिन्न आन्दोलनमा पनि सहभागी भएँ । विशेषगरी २०४५्र२०४६ को आन्दोलनमा ढुंगामुढा गर्न हिडे । जसले गर्दा मेरो नाम प्रहरीको हिट लिस्टमा थियो । पक्रउ गरिनँ । तर , बहुदल नआएको भए पक्रउ पर्थे होला ।

कलेजमा कसैसँग झगडा भएन
विद्यार्थी राजनीतिमा सक्रिय हुदा धेरैजसो अखिल र नेविसंघको झगडा गर्ने प्रकृतिको थिइन । म सकेसम्म झगडा मिलाउँथे । त्यसैले मैले कलेजको झगडामा कसैलाई पिटिनँ कसैको पिटाई पनि खाइनँ ।

पिसाब फेर्ने निहुँमा साथीहरुबाट छुट्टिएर कक्षाकोठामा जान्थे
कतिपय साथीहरु कलेज जान्थे , तर राजनीतिक कुराकानी गरेर नै समय बिताउँथे । तर, म एसएलसीमा ३ पटक फेल भएर आएकाले पनि पढाइमा विशेष ध्यान दिन्थे । जसले गर्दा साथीहरु गफ गरेर बसौँ भन्थे मचाहि पिसाब फेर्ने निहुँले कक्षाकोठामा गएर पढ्थेँ ।
साभारः गज्जब साप्ताहिक