आयोजकको नियत नै खराब


मलेसियामा हुने भनिएको युनिक – ७ कार्यक्रम विवादमा आयो । कारण थियो- आयोजकको बदनियत । कारण खुलासा गरेकी थिइन् मोडल प्रमिला न्यौपानेले । केहि महिना अगाडी उनले सामाजिक सन्जाल फेसबुकमार्फत आयोजकका एक सदस्यको कुनियत सार्वजनिक गरेकी थिइन् – ‘कार्यक्रमको बहानामा सेक्स प्रस्ताव राखे ।
कार्यक्रममा उनीसंगै लोक गायिका गीता सेन्च्युरी, गायक भागिरथ चलाउने र बिक्रमजंग शाह सहभागी रहेको आयोजकले पोस्टर सार्वजनिक गरेका थिए । पोस्टरमा उल्लेख भएअनुसार कार्यक्रमको आयोजक श्यामबाबु पटेल र भीमसेन केसी थिए ।

फेब्रुअरी १६ देखि १८ सम्म मलेसियाको तिन स्थानमा कार्यक्रम राखिएको थियो । न्यौपानेको दाबीअनुसार आयोजक मध्येका एकले उनलाई फेसबुकमार्फत घुमाउरो पारामा सेक्स प्रस्ताव राखेका थिए । उनले प्रस्ताव राख्नेको नाम भने खुलाइनन् ।

प्रमिलाका अनुसार कार्यक्रममा सहभागिता बारे उनको नाम फाइनल भैसकेको थियो ।  सहभागी हुने अन्य कलाकारसहित उनको तस्विर राखेर कार्यक्रमको पोस्टर सामाजिक संजाल फेसबुकमा राखिएको थियो । पछि उनको तस्बिर हट्यो ।

उनको ठाउमा कलाकार लीला गिरीको नाम चयन भयो । उनी प्रमिला कै साथी हुन् । प्रमिलाले सेक्स प्रस्ताव अस्विकार गरेको खबर बाहिरिसकेको थियो । शरीर बेचेर विदेश जान लागेको’ भन्ने आलोचना आउन थालेपछि उनले आयोजक टिमलाई नआउने भनी जानकारी दिइन् ।

रित्तै फर्काउछन् आयोजक
बिदेशमा रहेका नेपालीमाझ आफ्नो कला संस्कृति फैलाउने र मनोरन्जन दिन त्यता रहेका नेपाली संस्था र व्यक्तिहरुले बर्षभरि नै विभिन्न कार्यक्रम आयोजना गर्छन र नेपालबाट कलाकार बोलाउछन् ।

मलेसिया कतारजस्ता खाडी मुलुकमात्रै हैन युरोप, अमेरिका, अस्ट्रेलिया, क्यानाडा लगायतका देशमा समेत कार्यक्रमको चापाचाप हुन्छ । नया बर्ष, दशैं, लोह्सार लगायतका चाडपर्वमा स्वदेशमा पातलिने कलाकारको संख्याले उनीहरुमा रहेको विदेशको मोह देखिन्छ ।

यस्ता कार्यक्रमले विदेशमा रहेका नेपालीमाझ नेपाली कला पुगेको छ । कला क्षेत्रमा सक्रिय कलाकारको आम्दानिको श्रोत बढेको छ तर यसको सकारात्मक पाटो मात्रै छैन । मोडल प्रमिलाले उजघर गरेझै अध्यारो पाटो पनि उस्तै छ ।

यस्तै अनुभव छ, गायिका मनु नेम्बांग लिम्बु समुदायका मेला महोत्सवमा कतै छुटदिनन् । आफ्नो समुदायमा राम्रो पकड बनाएकी उनले राहदानीका धेरै देशको छाप छ । कतिको भ्रमण सुखद भए पनि दुखद पाटो पनि उत्तिकै छ ।

केहि महिना अघि उनी तीन महिने वेस्मालान्योक- २ (फरक पहिला) नामको कार्यक्रममा सहभागी हुन कार्यक्रमका लागि युरोपेली देशमा पुगिन् । तर पुरा महिना टिक्न सकिनन्, नेपाल फर्किइन् ।

नेपाल फर्किनुको कारण सामाजिक सन्जालबाट सार्वजनिक गर्दै भनिन्,’जति ठाउमा कार्यक्रम गरे, त्यसको पारिश्रमिक पाइन । बन्द खाममा प्लेन भाडाबाहेक केहि थिएन ।‘

यी दुइ कलाकार त खुले तर यस्तै पीडा भोगेको तर खुल्न नचाहने कलाकारको संख्या बाक्लै छ यहाँ । यहाँ यस्तै एक गायिकाको अनुभव पनि पढ्नुहोस्, जो बिदेशमा हुने कार्यक्रममा सहभागी हुन जादा पारिश्रमिकको त के कुरा उल्टै यौन शोषणको शिकार भइन् ।

युटुबमा लोकगीतहरुलाई नया तरिकाले गएर कार्यक्रम आयोजकको नजरमा परेकी उनलाई दुवईमा हुने कार्यक्रमको कन्सर्टमा लैजाने प्रस्ताव आयो । पारिश्रमिक पनि राम्रै दिने कुरा थियो । राम्रो अवसर भनेर उनले ओके भनिदिईन् । एक हप्तामै उनी दुबईका लागि उडिन् ।

कार्यक्रम भब्य भयो । बैदेशिक रोजगारका लागि दुबई पुगेका नेपालीले रमाइलो गरे । कार्यक्रम सफल भयो । आयोजकले पनि राम्रै आम्दानी गरे तर उनले न पारिश्रमिक पाइन्, न फर्कने हवाई भाडा ।

फर्कदा रित्तै थिए, उल्टै यौन शोसनमा परे’ ती गायिकाले भनिन , ‘आयोजकले जादा आफैले टिकट भाडा तिर्नु पर्छ, फर्कने बेलामा भाडा र पारिश्रमिक दुबै एकै पटक दिन्छु भनेको थियो । तर शारीरिक मानसिक पीडाबाहेक केहि दिएनन् ।

युएईमा समपन्न प्रतिभाशाली कलाकार सामाजिक कार्यक्रममा गएका ६ कलाकार सित्तैमा सहभागी भएर नेपाल फर्किए । कार्यक्रममा सहभागी कलाकारमध्येका एक सुदिप गैरेले भने, ‘लाखौ खर्च गरेर एल्बम निकालियो र युएईमा राम्रो स्टेज पर्फर्मेन्स पनि गरियो तर पारिश्रमिक भने पाइएन ।

विदेशका लागि किन मरिहत्ते?
सबै कार्यक्रम आयोजक उस्तै हुन्छन भन्ने छैन अनि सबै कलाकारको भोगाई उस्तै छ भन्ने पनि हैन । विदेश भन्नासाथ मरिहत्ते गर्ने कलाकार र यसैलाई हतियार बनाएर स्वार्थ पुरा गर्नेको बढ्दो संख्याले विदेशमा हुने कार्यक्रम बदनाम हुदै गएको भने सत्य हो ।

युएईमा सम्पन्न सपोर्ट माइ स्कुल (एसएमएस) धमाका २०१७ का संयोजक सुरेन्द्र थिन्ग तामांग कार्यक्रमको बहानामा विदेश गएर उतै बस्ने मानाशिकता लिएर आयोजकसंग अग्रिमेन्ट नगरी विदेश जाने कलाकार शोषणमा पर्ने गरेको बताउछन् ।

कतिपय कलाकार विदेश भुमि टेक्नकै लागि मात्रै कार्यक्रममा सहभागी हुने चाहना राख्छन, उनले भने ‘टिकटको पैसासमेत आफै तिरेर विदेश आउन राजी हुनेहरु उत्तिकै हुन्छन ।‘

कार्यक्रममा सहभागी हुन भनेर गएकाहरु पछि उतै अड्किएका तथ्यले सुरेन्द्रको दावी पुष्टि गर्छ । नेपालमा जमेका गायक नायक निर्देशक लगायतका कलाकारहरु युरोप, अमेरिका लगायतका देशमा आयोजित कार्यक्रममा सहभागी हुन गएर पछी उतै पलायन भएकाको संख्या बाक्लै छ ।

एग्रिमेन्ट नै नगरी राजी
रकसिद्दी इभेन्ट म्यानेजमेन्टका प्रमुख अमित उपाध्यायको दृष्टिमा एग्रिमेन्ट नै नगरी कार्यक्रममा सहभागी हुन विदेश जानु, समस्याको प्रमुख कारण हो । आयोजक कस्ती हो ? कति पारिश्रमिक पाउने हो ? कार्यक्रम अवधि भरको बसाइ र सुरक्षा को प्रबन्ध लगायतका पाटोमा प्रस्ट भएर सम्झौतापछी मात्रै कार्यक्रममा सहभागी हुने बानी बसाले कलाको नाममा कालो काम गर्नेहरु निरुत्साहित हुने उनले बताए ।

‘हिजोआज इन्टरनेटबाटै आयोजकबारे जानकारी लिन सकिन्छ’ उनले भने ‘को फटाहा हो, राम्रो आयोजक को हो सजिलै थाहा पाउन सकिन्छ । जानकारी नलिई लालचामा फसेर विदेश गए फसिन्छ । आफु को संग कहा, के कामक लागि जादै छु भन्ने बारे राम्रो संग जानकारी लिएर मात्र विदेश आएको राम्रो ।‘

उतैका कलाकार पनि जोगिएनन्
नेपालबाट विदेश जानेहरुको कथा त छदैछ । विदेशमै रहेर कलाकारितामा संघर्ष गरिरहेकाहरु पनि स्टेजको बहानामा दुर्व्यवहारको सिकार हुने गरेका छन् । त्यसको प्रमाण गत साल असोजमा अमेरिकाको क्यालीफोर्नियामा बस्दै आएकी गायिका निक्की कार्कीले भोग्नु परेको कालो अवस्था ।

युटुबबाट दर्शक स्रोतामाझ चम्किएकी गायिका हुन् निक्की । उनको ‘जेट उडाउछु’ र ‘दुनिया बेग्लै छ’ बोलका गित हिट छन् । स्टेज कार्यक्रमका लागि नर्थ क्यारोलिना (अमेरिका ) को सार्लोटमा गएका बेला उनी आयोजकको एक सदस्यबाट दुर्व्यवहारमा परेको सार्वजनिक गरेकी थिइन् । उनले घटना लुकाइनन् । कालो काम गर्ने आयोजकका सदस्य सुशील नेपालको नाम नै सार्वजनिक गरीदिइन् ।

अमेरिकामा रहेका विभिन्न नेपाली सस्थाका अधिकारीसंग आफूमाथि भएको दुर्व्यवहारबारे जानकारी दिएर कारबाहीका लागि आग्रह गर्दासमेत वास्ता नभएपछि उनले घटना सार्वजनिक गरेकी थिइन् ।

उनले सार्वजनिक गरेको घटनाक्रम अनुसार गत सेप्टेम्बर १ देखि ३ सम्म नर्थ क्यारोलिनामा आयोजित नासिया-आनमाको संयुक्त सम्मेलनको अन्तिम दिन कार्यक्रममा सहभागी हुन गएका बेला उनी माथी दुर्व्यवहार भएको थियो ।

निक्किले तत्काल दिएको भिडियो बयानअनुसार नेपाल कार्यक्रम हुने दिन बिहान ५ बजे गायिका कार्कीलाई एयरपोर्टमा लिन गएका थिए तर उनले निक्कीलाई ‘कसैले सोधेमा आफै ट्याक्सीमा आएको भन्नु, म लिन आएको नभन्नु ल’ भनेर आग्रह गरेका थिए ।

भेटे लगत्तै उनले गरेको यस्तो आग्रह सुनेर निक्की चकित भइन् । त्यसपछि सुशीलले यतिखेर अतिथि गृहमा कोठा लिन नमिल्ने भन्दै आफ्नो कोठा लिएर गए ।
‘मेरो कोठामा फ्यामिली छ भन्नुभएको थियो तर  पुग्दा त कोहि पनि थिएन,’ निक्किले युटुबमा सार्वजनिक गरेको भिडियो बयानमा भनेकी छन्, ‘म एकदमै थाकेर गएकी थिए, त्यसैले मैले त्यहाँ कोहि नदेखेपछि म कहा सुतौ भनेर प्रश्न उठाए । भित्र एउटा मात्रै बेड थियो बेडको बिचमा एउटा सिरानी राखिएको थियो । दाइले पहिल्यै प्लान गर्नु भएको रहेछ । निक्की अब दुई घण्टा मात्र त हो नी, तिमी एउटा साइडमा सुत म अर्को साइडमा सुत्छु भन्नुभयो । मैले जिन्दगीमा कहिल्यै नदेखेको आयोजक टिमको दाइले त्यसो भन्दा मलाइ कस्तो महसुस होला? तपाइँ आफै अनुमान गर्नुस ।‘

निक्किले सुशीललाइ भिडियोमार्फत यती मात्र आरोप लगाएकी थिइनन्, कार्यक्रम समापनपछी सुशीलले आफुलाई कोठामा बसेर संगै बियर खाना जबर्जस्ति आग्रह गरेको समेत खुलाइन ।

‘राती ३ बजेतिर कार्यक्रम सकिएको थियो,’ भिडियोमा निक्किले भनेकी छन् ‘कार्यक्रम सकिएपछी उहाले मलाइ ‘तिमीले प्रोग्राम राम्रो गर्यौ, तिम्रो चेक रेडी छ । चेक लिन मेरो रुममा आउनु’ भन्दा त मा झन् डराए । उहाको नियत त प्रष्टै भयो । त्यसपछि मैले कार्यक्रममै भेट भएकी एकजना दिदीलाई यी सब घटना सुनाए ।

स्वदेशमा पनि उस्तै
विदेशमा मात्रै होइन स्वदेशमै पनि स्टेज कार्यक्रमका बहानामा नेपाली कलाकारमाथि दुर्व्यवहार हुने गरेको छ । बिशेष गरि संघर्षरत कलाकारलाई आयोजकले कार्यक्रममा बोलाएबापत गलत प्रस्ताव र व्यवहार गर्ने गर्छन । नेपाल भित्रै स्टेज कार्यक्रमका लागि बोलाउदा पनि घुमाउरो पाराले प्रस्ताव राख्ने गर्छन,’ गायिका सरु गौतम भन्छिन, ‘आफुले अंकल दाइ भनेर सम्बोधन गर्दै बोलिएको हुन्छ तर उनीहरुको इमान्दार स्वभाव एकाएक बद्लिन्छ । ‘हजुर कस्तो राम्री हुनुहुन्छ, यहा आएको बेला संगै घुम्न जानु पर्छ’ भन्ने टाइपको कुरा गर्न थालिहल्छन् । गाउन बोलाको कि उनीहरुसंग घुम्न? बुझ्ने गारो !’

किन बोल्दैनन कलाकार ?
स्टेजका बहानामा हुने दुर्व्यवहार र शोषणबारे यहा कलाकार खुलेर बोल्न डराउछन् । कारण – स्टेज कार्यक्राम नपाउने डर । नाम नखोलिदिने सर्तमा एक गायिकाले शुक्रबारसंग भनिन् ‘ठाडै प्रस्ताव राख्ने, जबर्जस्ति गर्न खोज्ने आयोजकहरु धेरै झेलेको छु तर मीडीयामा ल्याउदा आफैलाइ घाटा हुन्छ। यसले त सब पोल खोलिदिन्छे भनेर कार्यक्रममा बोलाउनै छाडछन् ।

विदेश भन्ने बित्तिकै हाम फालेर जानु भएन – अभिनेत्री रेखा थापा
विदेशको कार्यक्रममा जादा आयोजक को हो ? पारिश्रमिक कति दिने ही ? उता गएर कहा बस्ने? कसरी बस्ने ? यो सबै पाटो यतैबाट पक्का गरेर जानुपर्ने हो तर विदेश भन्ने बित्तिकै कलाकारहरु आत्तिएर जान थाले । यसो गर्दा शोषणमा पर्ने सम्भावना हुन्छ ।

फेरी पनि भन्छु, विदेश भन्नेबित्तिकै हामफालेर जनुभएन । कलाकार पनि आफ्नो मर्यादामा बस्नुपर्छ । नत्र कार्यक्रम गर्नेले गलत फाइदा लिने सम्भावना हुन्छ ।
म आफै अहिलेसम्म विदेशको कार्यक्रममा जादा शोषणमा पर्नुपरेको छैन । कतिपयले छुच्ची, घमण्डी भने तर शोषण भने खेप्नु परेन । विदेशमा मेरो ‘हाइ डिमाण्ड’ हुदा पनि जस्तो पायो त्यस्तो कार्यक्रममा म गइन ।

जसले जहाँ कार्यक्रम गरिदिए पनि विदेश भन्ने बित्तिकै गइहाल्नु राम्रो प्रवृति होइन । कलाकार त्यति सस्तो हो र ? एउटा व्यक्तिले गरेको कार्यक्रममा जाने कि नजाने ? कार्यक्रम गर्ने संस्था र व्यक्ति ब्यवसायीक हुनुपर्दैन ? कार्यक्रामको उद्येश्य सहि हुनुपर्दैन ? दर्शकबाट कमाएको प्रेमको सम्मान गर्ने हो भने आफ्नो स्तर पनि कायम राख्नुपर्छ कलाकारले ।

पहिला स्वदेशलाइ माया गर्नुपर्छ । बिदेशी मोह त्याग्नु पर्छ । रोल्पामा पुगेर कार्यक्रम गर्न सक्नुपर्छ । आफ्नै देशको कुना कन्दारामा पुग्नु पर्छ । अहिले पनि दुर्गम ठाउमा पुगेर नेपाली कलाकारको नाम सोध्दा २ ३ जनाभन्दा बढीको नाम नऔला ! त्यसैले पहिला आफ्नो देशमा आफुलाई चिनाउनु पर्यो ।

जथाभावी र सस्तो भएर बिदेशका कार्यक्रम जादा राम्रा कलाकारको सम्मानमा समेत आच आइरहेको छ । विदेश पुगेर कलाकारले अनेक चर्तिकला गरेको पनि सुनिन्छ । मदिरा सेवन गरेर ल्यांगफ्यांग भएको पनि देखियो । आधुनिक हुने नाममा जे पायो त्यहि गर्नु भएन ।

इन्जोई त डाक्टर, इन्जीनियर, पाइलट पनि गर्छन । उनीहरुको पनि निजि जीवन हुन्छ तर यसरि प्राइभेट लाइफ एक्स्पोज गर्दैनन्, हामीले किन गर्नुपर्यो ?
विदेश बाट अफर आउनासाथ ‘भईहाल्छ नि , आइहाल्छु नि’ भन्ने प्रबृत्तिले आयोजकलाई शोषण गर्न सजिलो भएको हो । म यस्तो कुरामा आयोजक र कलाकार दुवै पक्ष दोषी देख्छु । आफु असुरक्षित हुने महसुस हुन्छ भने बरु एकजना अभिभावक ल्याउछु भनेर प्रस्ताव राख्ने हैसियत राख्नुपर्यो । कलाकार भएपछि आयोजकसंग व्यवसायिक व्यवहार गर्न सक्नुपर्छ ।

बिदेशमा कार्यक्रम गर्ने आयोजाकहरुलाई आग्रह गर्न चाहन्छु, जस्तोसुकै बहाना र नाम नेपाली कलाकारलाई शोषण गर्ने अधिकार तपाइँलाई छैन । र, मलाइ थाहा छ – मेरो नेपालि दाजुभाईको संस्कार पक्कै त्यस्तो होइन ।  (कुराकानीमा आधारित)

‘संगै बस्नुपर्छ, रमाइलो गर्नुपर्छ भन्छन’ उरुषा पाण्डे मोडल
म पहिल्यै देखि नेपालमा हुने ब्युटी प्याजेन्ट र संस्कृतिक कार्यक्रमहरुमा डान्स गर्नेगर्छु । संघर्षको यो क्रममा मलाई थुप्रै देशबाट स्टेज कार्यक्रमका लागि अफर आए ।
जापान, लन्डन, मलेसिया लगायत देशमा कुरा भयो तर मलाई बोलाउने आयोजकको नियत खराब पाए । घुमीफिरी यहाँ आएपछि संगै बस्नुपर्छ, रमाइलो गर्नुपर्छ भन्ने टाइपको कुरा हुन्थ्यो ।

एक बर्षअघि मलेसियामा त म जाने भनेर अनलाइन तिर न्युज पनि आइसकेको थियो तर पछी त्यहि कुरा नमाने पछी क्यान्सिल भयो । फ्रेन्डशिप धमाका कार्यक्रम हुदै थियो ।

घुम्ने, रमाइलो गर्ने कुरा भएपछी मैले ‘मा तपाइको रमाइलो गर्ने साधन होइन’  भनेर जवाफ दिए । पछी मेरो ठाउमा अर्कै मोडल लगियो । मलाई ‘पछी अरुनै कार्यक्रममा लगाउला’ भने । मैले ‘तपाइको नियत बुझिसके, जिन्दघीभर नबोलाए हुन्छ’ भनेर जवाफ दिए ।

राम्रो डान्स गर्न सक्ने हुदाहुदै पनि यस्तै यस्तै कारणले विदेशको कार्यक्रममा गएको छैन । यहि हुदा त त्यसरी कुरा गर्छन, त्यहा गएपछि के गर्लान भन्ने डर लाग्छ ।
मलाइ थाहा छ, अहिले मैले यसरी यो विकृति बाहिर ल्याइरहदा हाम्रो इन्डस्ट्रीले ‘त्यो मोडल नै त्यस्ती होली , अनि त्यस्तो गरिहाल्छन नी ‘ भनेर मै माथि प्रश्न उठाउछन् । तर सत्य यहि हो । यहा ट्यालेन्ट मात्रै बिक्दैन, अरु धेरै कुरा खोजिन्छ । मसंग क्षमता छैन भन्ने लाग्छ भने नबोलाए हुन्छ तर कार्यक्रमको बहानामा खराब बार्गेनिंग नगरियोस ।
साभारः शुक्रबार साप्ताहिक