‘पोखरा सडक महोत्सव’मा जे देखियो (फोटो फिचर)

पौषको १३ गतेदेखि सुरु भएको ‘पोखरा सडक महोत्सव’ आज सकिदैछ । ‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नारासहित रेवान पोखराले अङ्ग्रेजी नयाँ वर्षको स्वागतमा विगत २३ वर्षदेखि महोत्सवको आयोजना गर्दै आएको छ ।

५ दिनसम्म चलेको यो महोत्सवमा नेपाली तथा विदेशी पर्यटकले मनोरञ्जन लिएका छन् । विशेषगरि, अंग्रेजी नयाँ बर्षलाई लक्षित गरेर आयोजना गरिएको महोत्सवमा दर्शकको घुँयचो नै देखिएको छ । पोखराको फिस्टेल गेटदेखि डिहिको पाटन सम्मको करिब ३ किलोमिटर खुल्ला सडकमा महोत्सव सञ्चालनमा रहेको थियो । स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी महोत्सवमा नयाँ बर्षको पूर्व सन्ध्यामा शनिबार मध्यरातसम्म हजारौं मानिसहरु सडकमा जम्मा भएका थिए ।

खुल्ला सडकमा टेबल कुर्सी निकाली सडकमै खाने, सडकमै सांस्कृतिक तथा विभिन्न कार्यक्रम सञ्चालन गरिएका थिए । महोत्सवलाई लक्षित गरि लेकसाइड क्षेत्र दुलही झैँ सिँगारिएको थियो । महोत्सव सञ्चालन हुने दायाँबायाँका सडकहरूमा रङ्गरोगन गरिएको थिए भने रङ्गीचङ्गी ध्वजा पताकाले टाँगेर सिँगारिएको थियो ।

महोत्सवको मुख्य स्थल कोमागाने पार्कमा स्टेज र विभिन्न खाने कुरा, लत्ताकपडा, बाल उद्यान महोत्सवको आकर्षण रहेका थिए । पाँच दिने सडक महोत्सवमा नेपालका विभिन्न जिल्ला र विदेशका समेत सांस्कृतिक कार्यक्रम प्रस्तुत थियो ।

महोत्सवमा सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, पर्यटन, खेलकुद, हस्तकला प्रदर्शनी, बाल उद्यान, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, लोकदोहोरी, लाइभ कन्सर्ट लगायत कार्यक्रमहरु आज पनि भइरहेका छन् । कोरोनापछि यो महोत्सवले पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

तस्बिर: प्रकाश भुषाल, अर्जुन पौडेल र राज मल्ल