‘यौटा सपनाको अवसान’ मञ्चन गर्दै अनुप बराल, नाटकको अर्थपूर्ण पोस्टर सार्वजनिक

समसामयिक विषयलाई भव्य सेट र कलाकारमार्फत चोटिलो गरी प्रस्तुत गर्न माहिर नाट्य निर्देशक अनुप बरालले ‘यौटा सपनाको अवसान’ शीर्षकको नाटक निर्देशन गर्ने भएका छन् । बुधबार नाटकको पोस्टर सार्वजनिक गर्दै उनले  नाटकले खुसी छाडेर सुखको पछि लाग्ने चरित्रको कथा पेश गर्ने संकेत गरेका छन् । सार्वजनिक पोस्टरले टाउको निहुर्याएको चरित्रको हतास मनस्थितिलाई संकेत गरेको छ । निर्देशक बरालले पोस्टर सेयर गर्दै नाटकले खुसी र सुखको परिभाषालाई बहसमा ल्याउन चाहेको बताएका छन् । 

‘यौटा सपनाको अवसान’ अमेरिकी नाटक ‘डेथ अफ अ सेल्समेन’को नेपाली अनुवाद हो । आर्थर मिलर लिखित नाटकलाई विप्लव प्रतीकले नेपालीमा अनुवाद गरेका हुन् । नाटक विधातर्फ पुलित्जर पुरस्कार र टोनी अवार्ड जित्न सफल यो नाटकलाई २० औँ शताब्दीको उत्कृष्ट नाटकमध्ये एक मानिन्छ । अमेरिकामा ७ सयभन्दा ज्यादा पटक मञ्चन भएको नाटक विश्वका धेरै देशमा मञ्चन भएको नाटक हो । 

नाटकमा शेखर चापागाइँ, दिव्यदेव, दिया मास्के, मेनुका प्रधान, विजय बराल, विकास जोशी, रोयदीभ श्रेष्ठ आदि कलाकारको अभिनय रहनेछ । चैत १० गतेदेखि सुरु भएर १ महिनासम्म चल्ने नाटकलाई एक्टर्स स्टुडियो र मण्डला थिएटरसँगको सहकार्यमा गोविन प्रडक्सनका लागि गोविन्द पराजुलीले निर्माण गरेका हुन् । गोविन्द पराजुलीले विगत १ महिनादेखि नाटकको रिहर्सल भइरहेको र हरेक कोणबाट भव्य नाटक दर्शकलाई सुम्पने अभिप्रायले काम भइरहेको बताएका छन् । 

‘भनिनु पर्ने कथालाई उस्तै भव्यताका साथ प्रस्तुत गर्ने हाम्रो प्रयास छ । नाटकले मनसँगै आँखालाई पनि सन्तुष्ट बनाउँछ भन्ने हाम्रो विश्वास छ,’ उनले भने । 
अनुप बरालले तीन वर्षअघि मान्छेको लासमाथि भोज गर्ने राजनीतिज्ञलाई तिखो व्यंग्य गर्ने नाटक ‘महाभोज’ को निर्देशन गरेका थिए ।