'वेडिङ एल्बम' नाटक रुचाइँदै

कौशी थिएटरमा असोज ४ गते देखि  'वेडिङ एल्बम' नाटक मञ्चन भइरहेको छ।

भारतीय रंगकर्मी गिरीश कर्नाडद्वारा लिखित नाटकलाई आकांक्षा कार्कीले नेपालीमा अनुवाद एवं निर्देशन गरेकी हुन् ।  यो नाटक घटस्थापनाको अघिल्लो दिनसम्म मञ्चन हुने छ।

कथा घेराको प्रस्तुति नाटक ‘वेडिङ एल्बम’ दक्षिण एसियाली पितृसत्तात्मक समाजमा निहित विरोधाभासहरू समेटी भारतीय नाटककार गिरीश कर्नाडले लेखेका हुन् । योनीका कथाहरू, लाइन, प्राइभेट इज पोलिटिकल, एनिमल फार्म, हरेक बबाल कुरालगायत अनूदित नाटकबाट नेपाली रङ्गमञ्चमा प्रबल स्थान बनाएकी आकाङ्क्षा कार्कीले पुनः अनुवादित नाटक तयार पारेर दर्शकलाई पस्किएकी छन् ।

नाटकमा बिहेको तयारीका तनावका विरोधाभासका विषयहरू समेटिएका छन् । दक्षिण एसियाली परिवारहरूमा व्याप्त तर प्राय: बाहिर नआउने यही विषयलाई कोइराला परिवारकी कान्छी छोरी विदुषीको विवाहको धुमधामसँगको तयारीमार्फत देखाउन खोजिएको छ ।

नाटकमा मध्यम वर्गीय सहरी ब्राह्मण परिवारको चित्रण गरिएको छ । जुन परिवार शिक्षित, उदार र आधुनिक छ । यद्यपि ब्राह्मणहरूले विवाह र सांसारिक, गृहस्थ जीवनलाई उच्च मूल्य दिने भएकाले त्यस समुदायका कन्याका लागि, विवाह सबैभन्दा महत्त्वपूर्ण जीवन–चक्र हो भनी सिकाइन्छ । दुई मनबिचको मिलनमा धन, वर्ग, यौन र परम्परा कसरी झटारो भनेर ठडिन्छ भन्ने नेपाली मानसिकताका बारेमा केही गहिरो मर्मस्पर्शी अन्तर्दृष्टिहरू कथावस्तुका रूपमा नाटकमा देखाउन खोजिएको छ । नाटकको मञ्च परिकल्पना झकेन बिसी र नीराजन डोटेलले गरेका हुन् भने ध्वनि परिकल्पना नरेश गजुरेल र सुरज मल्लले गरेका छन्। 

नाटकमा निर्देशक कार्कीसहित लुनिभा तुलाधर, आशान्त शर्मा, सुदाम सिके, केनिपा सिंह पहारी, नवीनचन्द्र अर्याल, ऋषिकेश बस्याल, जीवन गौतम र निष्ठा त्रिपाठीको अभिनय छ।

नाटक शनिबार बाहेक हरेक दिन बेलुका ५ः१५ बजे देखि र अतिरिक्त शो शनिबार दिउँसो १ बजे मञ्चन हुँदै आएको छ ।