गृह जिल्लामा पललाई नागरिक अभिनन्दन


आफ्नो गृह जिल्लामा आयोजना भएको सांकृतिक कार्यक्रममा दुलाहा झै सजिएर पुगेका नायक पल शाहलाई नागरिक अभिनन्दन समेत गरिएको छ । पलले जिल्लाको नाम बढाएको भन्दै उनलाई अभिनन्दन गरिएको हो । 

पल शाह फागुनको १५ गते मात्र १ बर्ष लामो जेल जीवन बिताएर रिहा भएका थिए । उनै, पल जेलबाट बाहिर निस्किएसँगै महोत्सवमा चर्को मुल्य लिएर दौडधुप गरिरहेका छन् । उनले केही दिन अगाडि मात्र रुकुममा आयोजना भएको एक महोत्सवमा पुग्न हेलिकप्टर चार्टर गर्न आयोजकलाई लगाएका थिए ।

साथै, उनले सो कार्यक्रममा पुगेको ५ लाख रुपैयाँ पारिश्रमिक लिएको समेत चर्चा छ । उनै, पल आइतबार दाङको घोराहीमा आयोजना भएको महोत्सवमा पुग्दा पनि उनको भव्य स्वागत गरिएको थियो ।

पल फूल र मालाले ढपक्कै ढाकिएका थिए । उनलाई हेर्नका लागि दर्शकले २ सय रुपैयाँको टिकट समेत काटेका थिए । २ सय रुपैयाँको टिकट काटेर सांकृतिक कार्यक्रममा पुगेका दर्शकलाई आयोजकले १० पटकसम्म पल शाह आई लभ यू भन्न लगाएको थियो । 

पलले दर्शकहरुको मायाको कारणले नै आफू जेलमुक्त भएको बताए । उनले जेलमा बस्दा आफूलाई आमाबुबाको याद नआएको बताए । दैनिक विभिन्न ठाउँबाट आमाबुबा आएर आफूलाई आर्शिवाद दिएको पल शाहको भनाई छ । 

पल जेलबाट बाहिर निस्कने वित्तिकै दर्शकसँग नजिक हुन महोत्सवमा कुँदिरहेका छन् ।