‘बुद्ध थिएटर फेस्टिभल २०२३’ सुरु

‘बुद्ध थिएटर फेस्टिभल २०२३’ सुरु भएको छ।

जमलस्थित सांस्कृतिक संस्थानमा आयोजित कार्यक्रमबीच तेस्रो संस्करण सुरु गरिएको हो। 

शेचेन गुम्बाका १० जना लामाहरूले मन्त्र उच्चारण गरि बोद्ध थिएटर फेस्टिभलको औपचारिक उद्‍घाटन गरे। महोत्सव उद्‍घाटन समारोहमा रंगकर्मी अनुप बराललाई ५० हजार रूपैयाँको ‘डबली अवार्ड’ प्रदान गरिएको थियो। अनुप उपस्थित नहुँदा उनकी श्रीमती दिया मास्केलाई पुरस्कार हस्तारण गरियो। 

कार्यक्रममा सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक राई, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, प्राध्यापक तथा लेखक डा.अभि सुवेदी लगायतका रंगकर्मीहरुको उपस्थिति थियो। 

बुद्धको जीवन र दर्शनमा आधारित नाटकहरु मञ्चन गर्ने फेस्टिभलको आयोजना हुनु निकै राम्रो कार्य भएको कुलपति भुपाल राईले बताएँ। साथै बुद्धसम्बन्धि फेस्टिभललाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने धारणा राखे उनले।  

गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्य रहेको फेस्टिभलमा आज नृत्य नाटिका ‘चण्डालीका’ समेत मञ्चन भएको थियो। 

बुद्धलाई नेपालीले पनि राम्रोसँग बुझेर आफ्नो हो भनेर चिन्न सकोस् भनेर यो फेस्टिभल आयोजना गरिएको महोत्सवका निर्देशक तथा कलाकार पुस्कर गुरुङले बताए। आगामी संस्करणदेखि महोत्सवलाई अन्तराष्ट्रिय स्तरमा लैजाने समेत उनको भनाई थियो। 
चैत १७ गतेसम्म चल्ने फेस्टिभलमा ६ नाटक मञ्चन हुनेछन्।