३ फिल्मको ओपनिङः ‘जारी’को टिकट नै छैन, ‘बिहे पास’ सुखद, ‘बुलाकी’ औषत


आजबाट रिलिजमा आएका तीन नेपाली फिल्मले नयाँ बर्षलाई चलायमान बनाएका छन् । नयाँ बर्षमा नेपाली फिल्ममा नै दर्शकको ध्यान बढी केन्द्रित हुने भएकाले पनि निर्माताहरू यो मितिका लागि तँछाडमछाड गर्छन् । 

गतबर्ष ‘केजीएफ २’का कारण नेपाली फिल्मले सकस भोगे पनि यो बर्ष विदेशी फिल्मसँग प्रतिस्पर्धा छैन । तर, यसपटक विदेशी फिल्म आएको भए पनि नेपाली फिल्मले नराम्रोसँग पछार्ने देखिएको छ । 

यो बर्षको सुरुवातमै उपेन्द्र सुब्बाको निर्देशन, रामबाबु गुरुङको निर्माण रहेको फिल्म ‘जारी’ले बक्स अफिसमा भूकम्प नै ल्याइदिएको छ । यो फिल्मको टिकट पाउन आज दर्शकलाई निकै मुश्किल पर्ने देखिएको छ । 

बिहानी शोबाटै सतप्रतिशत अकुपेन्सीमा यो फिल्म हलमा लागिरहेको छ । दर्शकले बेलुकी १० बजेसम्मको टिकट पनि कतिपय हलमा नपाउने निश्चित छ । यस्तो खालको आक्रामक व्यापार केही समयपछि नेपाली फिल्ममा देखिएको हो । प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएपछि दयाहाङ राई, मिरुना मगरको लभ स्टोरी कथामा तयार भएको फिल्मले बक्स अफिसमा बम्पर व्यापार गर्ने देखिएको छ । 

आजैबाट रिलिजमा आएको अर्को फिल्म ‘बिहे पास’को व्यापार पनि सुखद छ । यो फिल्म हेर्नका लागि पनि दर्शकको उत्साह राम्रो देखिएको छ । प्रवेश पौडेलको निर्देशनमा दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘बिहे पास’ले बिहानबाटै दर्शकको उत्साहजनक साथ पाएको छ । फिल्म हेर्नका लागि मल्टिप्लेक्समा दर्शकको चाप सुखद छ । यो फिल्मका पनि केही शोजहरु सोल्ड आउट हुने क्रममा छन् । 

लक्ष्मण सुनारको निर्देशनमा तयार भएको अर्को फिल्म ‘बुलाकी’को व्यापार भने औसत छ । निकै कम शोजमा खुम्चिएको यो फिल्म दर्शकको तेस्रो रोजाइमा परेको छ । सुरक्षा पन्त, नरेन खड्का र विराज विष्टको मुख्य भूमिका रहेको फिल्म ‘बुलाकी’लाई पनि प्रिमियरमा रुचाइएको थियो । तर, ‘जारी र बिहे पास’सँगै यो फिल्म रिलिज गर्ने यसको मेकरको निर्णय गलत साबित हुने देखिएको छ । 

गतबर्ष आधा दर्जन भन्दा बढी फिल्म चलेपछि चलमलाएको नेपाली बक्स अफिस यो बर्षको सुरुवातमै सुखद देखिएको छ । यो नेपाली फिल्म क्षेत्रका लागि सुखद संकेत हो ।