बिजय बरालः दयाहाङ राईका सारथी

फिल्म ‘जारी’ हेर्न पुगेका पत्रकार तथा समीक्षकले नायक दयाहाङ राई र नायिका मिरुना मगरको त खुलेरै प्रशंसा गरे । तर, कलाकार बिजय बरालको प्रशंसामा पनि समीक्षक र फिल्मीकर्मीहरु थाकेनन् । 

फिल्म हेर्दै गर्दा कैयौं स्थानमा बिजय बराल हाबी छन् । फिल्मका केही दृश्यमा दर्शक दिक्क हुदै गर्दा बिजय बरालका संवाद र उनको अभिनयले होल्ड गरेको छ । 
यसैले, ‘जारी’ चल्नुको क्रेडिट दया र मिरुनाले पाउँदै गर्दा बिजय बराल पनि यसको हकदार उती नै छन् । 

उसो त, दया र बिजयको सहकार्य पहिलो पटक भएको होइन । उनीहरुलाई दर्शकले सर्वाधिक रुचाएको ‘कबड्डी’बाट हो । यो सिरिज हिट हुँदै गर्दा बिजय बराल र दयाहाङ राईको जोडी पनि बजारमा चर्चित बन्यो । 

बिजय बरालले अन्य केही फिल्ममा पनि अभिनय गरेका छन् । तर, दयाबिनाका फिल्ममा बिजय बराललाई दर्शकले खासै रुचाएनन् । 

फिल्म हेर्न हलमा पुग्ने दर्शकले पर्दामा दयालाई देख्ने वित्तिकै बिजयको याद गर्छन् । बिजयसँगको सम्बन्धको बिषयमा दयाहाङ भन्छन्–‘बिजय मेरो करिअरको लागि दाहिने हात हुन् । उनीसँगको मेरो सम्बन्ध शब्दमा बर्णन गर्न सकिदैन ।’

बिजय बराल नेपाली फिल्म क्षेत्रका एक अब्बल कलाकार हुन् । फिल्ममा बिजय बराललाई मुख्य कलाकारको रुपमा दर्शकले रुचाएका छैनन् । तर, उनी फिल्ममा चटनीको रुपमा प्रस्तुत हुने गरेका छन् । 

फिल्मको बिच बिचमा उनको संवादले दर्शकलाई होल्ड गरेको छ । उनले नै अभिनय गरेको फिल्म ‘ह्यारी कि प्यारी’मा पनि उनी सशक्त रुपमा देखिएका थिए । 

नेपाली फिल्म क्षेत्रमा चरित्र अभिनेताको रुपमा केही कलाकार मात्र हाबी छन् । बिजय बराल, बुद्दि तामाङ, रविन्द्र झा लगायतका कलाकार हाबी छन् । हरेक फिल्ममा यी कलाकार नहुँदा फिल्म खल्लो लाग्न थालेको छ । 

बिजय र दयाहाङको सहकार्य फिल्ममा मात्र होइन । मण्डला थिएटरमा पनि यी दुई कलाकारको सहकार्य बलियो बनेको छ । यसैले, त आजका दिनमा बिजय र दया एकसाथ कुनै फिल्ममा देखिएनन् भने दर्शकका लागि नुन बिनाको तरकारी लाग्न थालेको छ ।