फिल्मको प्रचारमा धिरज–जसिताको मिहिनेत


नायक धिरज मगर र नायिका जसिता गुरुङ विगत केही हप्तादेखि काठमाडौं भन्दा काठमाडौं बाहिर बढी दौडधुप गरिरहेका छन् । पश्चिम नेपालको बुटवल र नेपालगञ्जमा उनीहरुको दौडधुप गज्जब थियो । फिल्मका कलेजदेखि रात्रीकालिन क्लबमा समेत पुगेका धिरज र जसिता शनिबार बेलुकी पूर्वी नेपालको यात्रा गरेर फर्किए । 

उनीहरुले बिर्तामोडदेखि धुलाबारी हुँदै दमक, इटहरी, धरानसम्म फिल्मको प्रचार गर्न भ्याए । यतिसम्म कि, धिरज र जसिताले फिल्मको प्रचारका क्रममा धरानका मेयर हर्क साम्पाङलाई समेत भेटे । फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’को टिमले हर्कको श्रम अभियानमा ५० हजार दिने घोषणा गर्यो । 

धिरज र जसिताले हर्क साम्पाङको पानी अभियानमा साथ दिदै पाइप समेत बोके । उनीहरुले, यो अभियानमा जोडिएका हजार भन्दा बढी मानिसहरुसँग तस्वीर खिचाए र धरानको कथामा फिल्म बनेको भन्न समेत भ्याए । 

नेपाली फिल्मका कमै मात्र कलाकारमा फिल्म प्रचारका क्रममा यो खालको दौडधुप देखिन्छ । यसपटक धिरज र जसिताले फिल्मका लागि निकै नै मिहिनेत गरेका छन् । 

रेनशा वान्तवा राईको निर्देशनमा तयार भएको यो फिल्मलाई सपना र आशाको कथा भनिएको छ । नेपालकै पहिलो डान्स ड्रामा फिल्मले दर्शकको साथ पाउनेमा  धिरज र जसिता विश्वस्त छन् ।