निश्चलको ‘दिमाग खराब’मा दयादेखि स्वस्तिमासम्म


फिल्म ‘लूट २’ निर्देशन गरेर आलोचना भोगेपछि हच्किएका निर्देशक निश्चल बस्नेतले केही बर्षको अन्तरालपछि नयाँ फिल्म निर्देशन गर्ने तयारी गरेका छन् । उनले निर्देशन गर्न लागेको नयाँ फिल्मको नाम ‘दिमाग खराब’ राखिएको छ । 

यो फिल्मका लागि कलाकारको लाइनअप पनि पुरा भएको छ । फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा र बिजय बराल मुख्य भूमिकामा रहने भएका छन् ।

फिल्ममा सुसन प्रजापतिको छायांकन, आकाश बरालको पटकथा, जयन जे वाइवा र कालिप्रसाद बाँस्कोटाको संगीत, निमेष श्रेष्ठको सम्पादन रहने पक्का भएको छ । 

फिल्मका कार्यकारी निर्माता सुरज बम ठकुरी रहेका छन् । रौनक विक्रम कँडेलको निर्माणमा तयार हुन लागेको फिल्ममा सिनमा आर्टस् प्रालि र ब्ल्याक हर्स पिक्चर्स प्रालिको सहकार्य रहेको छ ।

फिल्मलाई शक्ति र जनताको कथामा निर्माण गर्न लागिएको निर्माणपक्षले बताएको छ । यो फिल्मलाई कार्तिकको ४ गतेबाट रिलिज गर्ने घोषणा पनि निर्माणपक्षले गरिसकेको छ ।