‘पर्खी बसे २’का लागि दीपकले निर्माता नै खोसिदिएपछि...


केही महिना अगाडि निर्देशक दीपक श्रेष्ठले नायक दयाहाङ राईलाई लिएर फिल्म बनाउने खबर सार्वजनिक भयो । दयालाई साइन गराउँदै दीपकले केवल तामाङको लगानीमा ‘हरियो ढुंगा’ नामक फिल्म बनाउने तयारी गरेका थिए । 

यसपछि, केवल तामाङले पनि फिल्मका लागि अर्का निर्माता भित्राए । काम अगाडि बढिरहेको थियो । तर, यो बिचमा दीपकले केवलले भित्राएका निर्माता नै खोसिदिए । अर्थात, केबल तामाङले ‘हरियो ढुंगा’ नामक फिल्मका लागि सहकार्य गर्न ल्याएका निर्मातालाई दीपकले खोसेर नयाँ फिल्म घोषणा गरे, ‘पर्खि बसे २’ । 

यो फिल्मको घोषणा गरेर दीपकले काम अगाडि बढाएका छन् । अर्कोतिर, दीपक विरुद्ध केवल तामाङ उजुरीका लागि दौडिएका छन् । 

एकसाथ फिल्म बनाउने भनेर एकजुट भएका केवल र दीपक छुट्टिएका छन् । केवल तामाङ दीपकविरुद्ध उजुरी गर्ने भन्दै विभिन्न संघसंस्था पुगिरहेका छन् । 

दीपकले निर्देशन गरेको फिल्म ‘घिन्ताङ’ रिलिज हुन सकिरहेको छैन । दीपक भने हिट फिल्म ‘पर्खि बसे २’को सिक्वेल बनाउन लागिपरेका छन् ।