तीन युवतीको विगत यात्रा समेटिएको नाटक ‘त्रयम्’ कौशीमा मञ्चन हुँदै

काठमाडौँका एउटा फ्ल्याटमा तीन जना युवती भाडामा बस्छन् । एकअर्कासँग पटक्कै नमिल्ने स्वभावका उनीहरूसँग नजिक हुने धेरै कुरा छैनन् । तर पनि सँगै बस्न बाध्य छन् । आफ्नो रुचि र स्वभावलाई मात्र प्राथमिकता दिने उनीहरूको जीवनमा यस्तो घटना घट्छ जसले उनीहरूको एक अर्काप्रतिको बुझाइलाई छिन्नभिन्न पार्छ । योसँगै उनीहरूको विगत किताबको पानाझैँ पल्टिँदै जान्छन् जसले उनीहरू जे देखिन्छन् त्यो नभएको यथार्थ खुल्छ । एक दिनको घटनाले उनीहरूको वर्षौँदेखिको कथा बताउँछ । 

यो कथासार हो मञ्चनको तयारीमा रहेको नाटक ‘त्रयम्’को । तीन युवतीको विगत कोट्याउँदै नाटकले महिलाले दैनिक जीवनमा भोग्ने हिँसालाई रोचक पारामा प्रस्तुत गर्नेछ । दिलिप रानाभाटको  लेखन तथा निर्देशन रहेको नाटक आउँदो १२ गतेदेखि त्रिपुरेश्वरस्थित कौशी थिएटरमा मञ्चन हुने भएको छ । 

नाटक थिएटर भिलेजले निर्माण गरेको हो । थिएटर भिलेजले हालसालै ‘पल्पसा क्याफे’ र ‘दि कन्फेसन’ जस्ता नाटक निर्माण गरेको थियो । निर्देशक दिलिप रानाभाटले नाटक एक वर्ष पहिला किङ्स कलेजमा पढाउने सिलसिलामा तयार गरेको बताएका छन् । 

‘यो विषय लामो समयदेखि बोकिरहेको थिएँ । एक वर्ष पहिला किङ्स कलेजमा थिएटर पढाउँदा यसलाई थोरै विकास पनि गरेको थिएँ । तर त्यो दर्शकसम्म पुगेको थिएन । यसपल्ट मौका जुर्दै छ, 'उनको भनाइ छ, ुयहाँ उठिरहेका विषय मेरो नजिकका धेरै महिलाहरूले भोगेका विषय हुन् । कतिले मलाई सुनाएका छन् । कतिले नभनी पनि मैले बुझेको छु । यो नाटकले तपाईँहरूको पनि मौनता तोड्न प्रेरित गर्नेछ ।'

तीन नारी पात्रको वरिपरि घुम्ने नाटकमा संगीता थापा, रक्षा थापा र पूर्णिमा आचार्यले शीर्ष भूमिका निर्वाह गरेका छन् । उनीहरुलाई श्रवण रानामगर र नाथन रायन भण्डारीले साथ दिनेछन् । 

नाटक १२ गतेबाट सुरु भएर २८ गतेसम्म चल्नेछ । दिलिप रानाभाटकै परिकल्पनामा तयार भइरहेको नाटक निर्माणमा पर्दापछाडि रहेर आयुष्मा खरेलले सघाएकी छिन् ।