‘परस्त्री’को ट्रेलरमा गौरव र कोशिशसँग बोल्ड शिल्पा


असारको १५ गतेबाट रिलिज हुन लागेको फिल्म ‘परस्त्री’को ट्रेलर आज एक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ । काठमाडौंको वान सिनेमाज्मा आयोजित ट्रेलर रिलिज कार्यक्रममा फिल्मका कलाकार, प्राविधिक सबै पुगेका थिए । 

‘लभ लभ लभ’का मुख्य नायक सुरज पाण्डेको निर्देशनमा तयार भएको यो फिल्ममा शिल्पा मास्के, कोशिश क्षेत्री, गौरव बिष्ट, गीत बिष्ट, अलिसा क्षेत्री, आशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी लगायतका कलाकारको अभिनय छ । 

फिल्मको ट्रेलरमा नायिका शिल्पा मास्के बोल्ड देखिएकी छिन् । फिल्ममा उनी र गौरवबिचको केही अन्तरंग दृश्य समेत समावेश गरिएको छ । कोशिश क्षेत्रीको फिल्म भित्र बदलाको चरित्र देख्न सकिन्छ । 

सफल निर्देशक दीपेन्द्र के खनालको लेखनमा तयार भएको यो फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । लेखक खनालका अनुसार, फिल्मले नेपाली समाज भित्रकै घटनालाई प्रस्तुत गरेको छ । 

दिर्घ खड्काको सम्पादन रहेको फिल्ममा निरज कँडेलको छायांकन छ । यो फिल्मलाई हिन्दी भाषामा समेत रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ । निर्देशक पाण्डेका अनुसार, फिल्मको छायांकनको समयमा नै हिन्दी र नेपाली भाषामा खिचिएको थियो ।