मेक्सिकोको भिसा नलाग्दा प्रदीपको ‘कामिनो’को सुटिङ फिलिपिन्समा मात्र गरिने


नेपालबाट हिडेरै अमेरिका प्रवेश गर्ने नेपालीहरुको कथामा बन्न लागेको फिल्म ‘कामिनो’को छायांकन असारको १५ गतेबाट सुरु हुने भएको छ । नायक प्रदीप खड्का, नायिका नीति शाह लगायतका कलाकारको अभिनय रहेको यो फिल्मको छायांकन अब नेपाल र फिलिपिन्समा मात्र हुने भएको छ । 

फिलिपिन्समा एक महिना लामो समय बसेर बिहिबार मात्र नेपाल फर्किएका निर्देशक दीपक वलीले मेक्सिकोको भिसा नलाग्दा अब फिलिपिन्समै दृश्य खिच्नुपर्ने अवस्था आएको बताए । उनले मेरो फिल्मसँग भने–‘हामीले मेक्सिकोको लागि भिसा प्रयास गरेका थियौं । तर, भिसा लागेन । मुख्यतया हाम्रो कथा ब्राजिल र मेक्सिकोको जंगल र समुन्द्रमा बढी केन्द्रित छ । अब, फिलिपिन्सकै जंगलमा खिच्छौं ।’

उनले, फिल्मको कथामा अमेरिका प्रवेश गर्नुपर्ने बिषय नरहेको सुनाए । तर, मेक्सिकोको दृश्यलाई भीएफएक्स गरेर भएपनि देखाउने उनको भनाई छ । उनले भने–‘ब्राजिलमा भिसा प्रयास गर्ने विकल्प हामीसँग अझै पनि छ । तर, यसो गर्दा धेरै समय लाग्छ कि जस्तो देखियो । यसैले, फिलिपिन्समा नै सबै दृश्य खिच्ने तयारी गरेका छौं ।’

उनले, असार १५ गतेबाट फिलिपिन्समा ४५ दिनको छायांकन गर्ने सुनाए । यसपछि केही दृश्य नेपालमा खिच्ने उनको भनाई छ ।