आजबाट ‘निरफूल’ हलमा, दयाहाङले दर्शक तान्ने अपेक्षा


नायक दयाहाङ राइको मुख्य भूमिका रहेको फिल्म ‘निरफूल’ आजबाट देशभरका हलमा रिलिज भएको छ । यो फिल्मलाई मल्टिप्लेक्सहरुले औषत शोज उपलब्ध गराएका छन् । हलमा दर्शकको चरम अभाव भैरहेको समयमा नायक दयाहाङ राइले दर्शक तान्ने अपेक्षा सिंगो फिल्म क्षेत्रको छ । 

फूलमान बलको निर्देशनमा तयार भएको यो फिल्मले धादिङको रुवी भ्यालीमा भेडा चराएर जिविकोपार्जन गर्दै आएको एक तामाङ परिवारको कथा भन्छ । फिल्ममा दयाको साथमा शान्ती वाइवा, वुद्दि तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ ।

आठ बर्ष अगाडि गएको भूकम्पका कारण आम नेपालीहरुले भोग्नु परेको पीडाको कथामा यो फिल्म बनेको छ । वैशाख १ गते रिलिज भएको नायक दयाहाङकै फिल्म ‘जारी’पछि हलमा दर्शक फर्किएका छैनन् । यसैले, दयाले नै दर्शकलाई हलसम्म तान्ने विश्वास गरिएको हो । 

यस्तै, आजबाट नै सुरज पौडेलको निर्देशनमा तयार भएको फिल्म ‘वेलकम टू हेम्जाकोट’ रिलिज भएको छ । कमेडी जनरामा तयार भएको यो फिल्ममा विनोद न्यौपाने, वुद्दि तामाङ लगायतका कलाकारको अभिनय छ ।

यो फिल्मले पैसाको अभावमा विदेशीन वाध्य नेपालीहरुको कथालाई उठान गरेको छ । साथै, वेरोजगारीका कारण आम यूवाहरुले भोग्नु परेको समस्याको कथालाई पनि फिल्मले उठान गरेको छ ।