‘परस्त्री’मा बोल्ड बनेकी शिल्पा भन्छिन्–‘हरेक फिल्ममा फरक र चुनौतीपूर्ण काम गरौं भन्ने लाग्छ’


असारको १५ गतेबाट नायिका शिल्पा मास्केको मुख्य भूमिका रहेको फिल्म ‘परस्त्री’ रिलिज हुँदैछ । यो फिल्ममा शिल्पा बोल्ड भूमिकामा देखिएकी छिन् । शिल्पाले फिल्म भित्र दिएका अन्तरंग दृश्यको बिषयले पेज थ्री गर्मिएको छ । 

उनै, शिल्पा आफूलाई हरेक फिल्ममा केही नयाँ र चुनौतीपूर्ण भूमिका गर्ने रहर भएको बताउँछिन् । ‘परस्त्री’मा आजसम्म आफूले नगरेको भूमिका पाएकाले पनि काम गरेको उनको तर्क छ । 

सुरज पाण्डे निर्देशित यो फिल्मको अफर आउँदा सुरुवातमा आफू झस्किएको उनले सुनाइन् । तर, फिल्मको कथावस्तु निकै मन परेपछि तयार भएरै काम गरेको उनको तर्क छ । 

शिल्पा भन्छिन्–‘म दर्शक र मिडियाले दिने हरेक खालका प्रतिक्रियाका लागि तयार छु । यसैले, ती सबै प्रतिक्रियाहरु स्विकार गर्न सक्छु भनेरै यो फिल्ममा काम गरेको हुँ ।’

शिल्पाले केही फिल्ममा काम गरेपनि व्यवसायिक रुपमा सफल हुन सकेका छैनन् । यसैले, यसपटक ‘परस्त्री’ उनको करिअरको लागि पनि महत्वपूर्ण छ । शर्मिला पाण्डे निर्मित यो फिल्ममा दीपेन्द्र के खनालको लेखन छ ।