संवाद हटाएपछि ‘आदिपुरुष’ले पायो नेपालमा प्रदर्शन अनुमति

भोली असार १ गतेदेखि प्रदर्शन हुने दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ नेपालमा पनि प्रदर्शन हुने भएको छ ।

यस अघि अभिनेता प्रभास, कृति सेनन र सैफ अली खान अभिनीत ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादमा आपत्ति जनाउँदै नेपाली सेन्सर बोर्डले सेन्सर पास प्रमाणपत्र दिन अस्वीकार गरेको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तको नेतृत्वमा बिहीबार अपरान्ह फिल्मको सेन्सर गरिएको थियो ।

रिलिज हुन एक दिन मात्रै बाँकी रहेपछि उक्त संवाद हटाएर पुनः फिल्म पेश गरेपछि सेन्सर पास प्रमाणपत्र दिएको सेन्सर बोर्डका सदस्य ऋषिराज आचार्यले मेरो फिल्मलाई जानकारी दिए ।

यस्तै, ‘आदिपुरुष’ को क्रेज बढिरहेको छ । भोलीबाट रिलिज हुने यो फिल्मका फ्यानहरूले धमाधम बुकिङ गरिरहेका छन् ।

भारतीय सञ्चारमाध्यम अनुसार दिल्लीमा एक टिकट २२०० भारूमा विक्री भइरहेको छ। थ्री–डीमा टिकटको मूल्य २२०० राखिएको छ भने टु–डीमा २००० राखिएको छ।

टिकटमा उच्च मूल्य हुँदा पनि माग घटेको छैन । कतिपय हलमा ३ दिनसम्म टिकट शोल्ड आउट भएको बताइएको छ।

हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार बिहीबार बिहान ११ बजेसम्म भारतका दुई ठुला मल्टीप्लेक्स चेनमा मात्र ४ लाख ७९ हजार बढी टिकट विक्री भइसकेको छ। यो तथ्याङ्क हिन्दी र तेलुगु दुवै संस्करणको हो।

'आदिपुरुष’ले अग्रिम टिकट अग्रिम बुकिङको मामिलामा रामचरण र जुनियर एनटिआरको फिल्म 'आरआरआर' लाई पछि पारिसकेको छ ।

हिन्दी र तेलेगु भाषामा छायांकन भएको फिल्म 'आदिपुरुष' लाई ओम राउतले निर्देशन गरेका हुन्। यो तमिल, मलयालम, कन्नुलगायत अन्य भाषामा समेत प्रदर्शन हुनेछ ।