‘राजागन्ज’मा निकितासँग दयाहाङ आउँदै, रामबाबु निर्माता

सन् २०१७ की मिस नेपाल निकिता चान्डकले ‘साङ्लो’पछि अर्को नेपाली फिल्म गर्ने पक्का भएको छ। उनी ‘राजागन्ज’बाट पुनः फिल्ममा फर्किन लागेकी हुन् ।

फिल्ममा ‘हाईवे’ तथा ‘ह्वाइट सन’ फेम निर्देशक दिपक रौनियारको निर्देशन रहनेछ । रौनियार तिनै निर्देशक हुन जसको पछिल्लो रिलिज ‘ह्वाइट सन’को प्रशंसा विश्वविख्यात ब्राजिली लेखक पाउलो कोहेलो समेतले प्रशंसा गरेका थिए। यस्तै यो फिल्मलाई ‘द न्यूयोर्क टाइम्स’ले हेर्नुपर्ने ९ नव निर्देशकको सूचिमासमेत राखेको थियो।

‘राजागन्ज’मा ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङको निर्माण हुनेछ । फिल्ममा निकिताका अलावा अर्की एक अभिनेत्रीले मुख्य भूमिका निर्वाह गर्नेछिन्। 

यो फिल्मलाई पुलिस थ्रिलरको जनरामा राखिएको छ। फिल्ममा निकितासँगै दयाहाङ राई तथा आशा मंगरातीको प्रमुख भूमिका रहनेछ।

यसै फिल्मबाट निर्माता बनेका रामबाबुले निर्देशक रौनियारसँग आफू फिल्म क्षेत्रमा काम सुरु गर्दाको सुरुवाती समयदेखि साथी रहेको उल्लेख गर्दै सँगै काम गर्ने अवसर जुरेकोमा खुशी व्यक्त गरेका छन्।

‘यो फिल्म नेपाली फिल्म क्षेत्रका लागि कोशेढुङ्गा हुनेछ र म यो फिल्मले बाँसुरी फिल्मस्को गरिमा बढाउन सहयोग गर्ने कुराले खुशी छु’, उनले भनेका छन्।

त्यस्तै अभिनेत्री निकिताले दयाहाङ र आशाजस्ता दिग्गज कलाकारसँग अभिनय गर्न पाउँदा आफू उत्साहितसँगै र थोरै डरको महशुस गरिरहेको प्रतिक्रिया दिएकी छन्।
आदि फिल्मस् र बासुरी फिल्मस् प्रोडक्सनको संयूक्त प्रस्तुति रहने फिल्मको सुटिङ जुलाइ २८ अर्थात साउन १२ गतेदेखि सुरु हुनेछ।

फिल्ममा निकिता, दया तथा आशाका अलावा ऋचा शर्मा, पशुपति राई, विजय बराल, गौमाया गुरुङ, घनश्याम मिश्रा, आरती मण्डल तथा पुष्पा यादवको अभिनय रहनेछ।