कामिनोबाट बाहिरिइन निती, निर्देशक भन्छन्– हल्लामात्र हो

फिल्म ‘प्रेमगीत ३’ पछि अभिनेता प्रदीप खड्का ‘कामिनो’मा व्यस्त हुँदैछन् । यो फिल्ममा प्रदीप जोडिएपछि फिल्मसँगै यसका कलाकार पनि चर्चामा छन् । 

वैशाखदेखि नै सुटिङमा जाने तयारी गरिरहेको फिल्म असार सकिन लाग्दा पनि सुटिङको सुरसारमा छैन । अनुबन्धित भएको फिल्म नै सुटिङमा नगएपछि यसमा आबद्ध कलाकारहरुले फिल्म छोड्न थालिसकेका छन् । 

पछिल्लो पटक अभिनेता सौगात मल्लले फिल्मबाट हात झिकेपछि अब यो क्रमलाई निती शाहले निरन्तरता दिएकी छन् । ‘मिस नेपाल इन्टरनेसनल’ विजेता निती पनि फिल्मबाट बाहिरिएकी छन् । 

नितीले हात झिकेपछि अहिले निर्माण पक्ष नयाँ अभिनेत्रीको खोजीको दौडधुपमा छन् । उनीहरुले कहिलेसम्म अभिनेत्री फाइनल गर्छन् भन्ने टुंगो पनि लागिसकेको छैन ।  काठमाडौँ र मेक्सिकोमा सुटिङ गर्ने भनी चर्चामा आएको यो फिल्मका प्रमुख अभिनेता प्रदीप खड्काले नै मेक्सिकोको भिषा नपाएपछि पछि यो फिल्म फिलिपिन्समा सुटिङ गर्ने तयारी थियो । तर अहिलेसम्म फिल्म युनिट सुटिङकै लागि फिलिपिन्स पुगेको छैन ।

यो फिल्मका निर्देशक दीपक वली हुन् । उनले भने नितीले हात झिकेको भनी मिडियामा आएको खबर झुटो भएको दाबी गरे । ‘नितीजीले हात झिक्नुभएको छैन । उहाँ सर्ट टर्म कोर्षका लागि भारत जानुपर्ने भएकोले उहाँले हात झिकेको भन्ने हल्ला आएको हुनसक्छ’, उनले भने, ‘हामी साउनपछि सुटिङमा जाने तयारीमा छौं । अहिले मौसमका कारण रोकिएका मात्र हौं । त्यो समयवाधिमा नितीजीको कोर्ष पुरा हुनेमा ढुक्क छौं ।’

फिल्ममा प्रदीपबाहेक वर्षा सिवाकोटी, राजबल्लब कोइराला,भोलाराज सापकोटा, प्रविण खतिवडा आदि कलाकारको पनि अभिनय रहने बताइएको छ । फिल्मका लागि निर्माण टिमले कार्यशाला पनि गरिसकेको छ ।