दयाहाङसँग छैन समय, तर फिल्म साइन गर्न छाडेका छैनन्


एउटा कुरा के स्पष्ट हो भने, नेपाली फिल्म क्षेत्र दयाहाङ राइको झोलीमा लुटपुटिएको छ । गतबर्ष ४ वटा फिल्म हिट भएपछि दयाहाङको माग झनै बढेको छ । यसैले, यो बर्ष दयाहाङ राईसँग नयाँ फिल्म साइन गर्नका लागि समेत समय छैन । 

नयाँ फिल्मका लागि समय नभए पनि दयाले फिल्म साइन गर्न भने छाडेका छैनन् । उनी, आफ्ना नजिकका निर्देशक रामबाबु गुरुङको निर्माणमा बन्न लागेको फिल्म ‘राजागन्ज’मा काम गर्दैछन् । उनै, दयाले अर्को फिल्म ‘कार्साङ’ पनि केही साता अगाडि साइन गरेका थिए । 

दयाका लागि फिल्मको लाइन लागेको छ । उनीसँग भने समय नै छैन । यो बर्ष मात्र उनले फिल्म ‘जारी, बिहे पास र निरफूल’को प्रचारप्रसार गरे । यी तिनै फिल्म रिलिज भइरहँदा दयाले फिल्म ‘नांगो गाउँ र दिमाग खराब’को छायांकन सकेका छन् । अब, उनी नयाँ फिल्म ‘हात्तीछाप’को छायांकन असारको २१ गतेबाट सुरु गर्दैछन् । 

उनीसँग फिल्मको प्रचार गर्ने, छायांकनमा जान लागेको फिल्मको वर्कशप गर्ने, फिल्मको सुटिङ गर्नु बाहेक अरु कुराका लागि समय नै छैन । 

तर, दया अझै पनि अफर आएको खण्डमा फिल्म साइन गर्ने मुडमा देखिएका छन् । उनले रोहित अधिकारीको निर्माण र सुरेन्द्र पौडेलको निर्देशनमा तयार हुन लागेको फिल्म ‘वरिष्ठ बलराम’मा पनि काम गर्न लागेको बुझिएको छ ।

यसरी हेर्दा, फिल्मको लामो लाइनलाई देखेर पनि दयाले नयाँ फिल्म साइन गरिरहेका छन् । यी सबै फिल्मका लागि समय मिलाउन उनका लागि भने फलामको चिउरा चपाए जस्तै भइरहेको छ ।