वैशाखदेखि यता २१ नेपाली फिल्म प्रदर्शन हुँदा एक हिट, एक औसत, बाँकी फ्लप

गत वैशाख १ गतेबाट फिल्म ‘जारी’ प्रदर्शनमा आएको थियो । यो फिल्मले वर्षको सुरुवातै सफलतातिर लाने अनुमानसहित उत्कृष्ट प्रदर्शन गरेको थियो । यो फिल्मले लगभग १७ करोड ग्रस गरेको थियो भने रिलिजको सय दिन नाघिसकेको छ । यो फिल्म अहिले पनि केही हलमा प्रदर्शनरत छ ।

सोही दिन अन्य दुई फिल्म ‘बिहे पास’ र ‘बुलाकी’ पनि रिलिज भएका थिए । ‘बिहे पास’ले लगानी सुरक्षित गर्न सकेन । ‘बुलाकी’ले फिल्म नै उतार्नुपर्यो । पछि आएर ‘बिहे पास’ पुनः रिलिज गरियो । त्यही पनि फिल्मले लगानी उठाउन सकेन । दोस्रो पटक पनि दम तोड्यो । 

यसपछि रिलिज भएको फिल्म ‘नाइँ नभन्नु ल ६’ र ‘प्रसाद २’ थिए । जसमा ‘नाइँ नभन्नु ल ६’ भन्दा ‘प्रसाद २’ केही हदसम्म बढी चल्यो । तर दुवै फिल्मले लगानी सुरक्षित गर्न सकेनन् । 
दर्शकले ‘नाइँ नभन्नु ल ६’ लाई अघिल्ला सिरिज जस्तो माया गर्न सकेनन् । उनीहरुले ‘नाइँ’ नै भनेर पठाए । 

त्यसपछि रिलिज भएका ‘ज्याकी–आइ एम २१’ र ‘कैदीको पत्र’को अवस्था उस्तै रह्यो । निकै महंगो रकम खर्च गरेर निर्माण गरिएको फिल्म ‘ज्याकी–आइ एम २१’ बक्सअफिसमा महंगै साबित भयो । किनकी फिल्म चल्नै सकेन । त्यस्तै कृतिमा आधारित ‘कैदीको पत्र’ ले भने कृतिको गरिमा राख्न सकेन ।

यसपछि रिलिज भएका ‘हुक्का’ र ‘टुल्की’ हुन् । यी फिल्मले आफ्नो लगानी जस्तो दर्शकबाट न साथ पायो, न निर्माताले दाम नै पाए । यिनीहरु सुरुवातमै असफल भए । 
यसपछि रिलिज भएको ‘ए साथी सुन’को अवस्था झन नाजुक नै थियो । फिल्ममा वर्षा शिवाकोटीले प्रमुख भूमिकामा अभिनय गरे पनि उनलाई न दर्शकले साथ दिए, न त बक्सअफिसले नै ।
यसपछि ‘हल्कारा’ प्रदर्शनमा आयो । यो फिल्मले पनि यसअघिका निरन्तर फ्लप जस्तै आफूलाई पनि फ्लपमै उभ्यायो । 

अभिनेता दयाहाङ राईको फिल्म ‘जारी’ चल्दा ‘नीरफूल’का निर्देशक फूलमान बलले पनि दयाकै ब्राण्ड हेरेर दर्शक आउँछन् भन्ने ठूलो अपेक्षासहित रिलिज गरेका थिए । तर फिल्म उनले सोचेजस्तो भइदिएन । दर्शकले पनि दयाहाङको ब्राण्डलाई साथ दिन सकेनन् । त्यस्तै ‘वेलकम टु हेम्जाकोट’ पनि सोही दिन रिलिज भए पनि उल्लेख्य दर्शकलाई थिएटरमा स्वागत गर्न सकेन । दुवै फिल्म असफल देखिए ।

त्यस्तै ‘पासाङ’ र ‘डाकिनी’को हकमा भने निर्माताले नै फिल्म चलोस् भनेर लगाएका भने थिएनन् । ‘डाकिनी’ले सीमित हलमा फिल्म प्रेमीहरुका लागि लक्षित गर्दै प्रदर्शनमा ल्याएको थियो भने ‘पासाङ’ डकुमेन्ट्री फिल्म भएकाले सोही अनुरुप निर्माताले प्रदर्शनमा ल्याएका थिए । तर बक्सअफिसमा हेर्दा यी फिल्म पनि असफल भए ।

यसैगरी ‘अन्तिम संस्कार’को अवस्था पनि अन्तिम नै रह्यो । फिल्मका कलाकारहरु चलेका भए पनि फिल्म भने चल्न सकेन । अभिनेता विजय लामाले त ‘यो फिल्म मेरा लागि बाबाले दिनुभएको अन्तिम उपहार’ भनेर प्रचारसमेत गरेका थिए । फिल्ममा विजयको नग्न दृश्य भनेर प्रचारसमेत गरिए पनि फिल्म दर्शकबाट नांगियो । जसकारण फिल्म धेरै समय टिक्न सकेन ।

त्यस्तै फिल्म ‘परस्त्री’को अवस्था कम थिएन । सफल निर्मात्रीका रुपमा स्थापित भइसकेकी शर्मिला पाण्डेलाई यो फिल्मले स्थापित बनाउन सकेन । उनका छोरा सुरज पाण्डेको डेब्यू निर्देशन रहेको यो फिल्म असफल भइदियो । शर्मिलाले केवल छोराको डेब्यूलाई मात्र सान्तवना पाइन् । बक्सअफिसले उनलाई सान्तवना दिन सकेन ।

यसपछि रिलिज फिल्म ‘बगान’को भने औसत व्यापार देखाउन सफल भएको छ । यो फिल्म अहिले पनि थिएटरमा प्रदर्शनरत छ । एकल महिलाको कथा समेटिएको फिल्ममा विशेषत महिला दर्शकको उपस्थिति उल्लेख्य छ । यसका निर्देशक सरोज खनालको डेब्यू निर्देशन रहेको फिल्मबाट लगानी थोरै गरिएकाले लगानी उठ्नेमा निर्माता ढुक्क छन् ।

यसपछि रिलिज ‘लुङा’ न प्रचारप्रसारमा देखियो, न हलमा दर्शक देखियो । बक्सअफिसमा लगभग पोस्टरमै सीमित हुन पुग्यो । यो फिल्म ठूला मल्टिप्लेक्सहरुले शो दिएका थिएनन् । निर्माताहरुले सोचे अनुरुप शो नपाएपछि सीमित हलमा मात्रै प्रदर्शनमा आएको थियो ।

गत शुक्रबारबाट रिलिज भएको फिल्म ‘अदृश्य’ दर्शकका लागि अदृश्य नै हुन पुग्यो । यो फिल्मले न उल्लेख्य प्रचारप्रसार गर्न सक्यो, न बक्सअफिसमा दर्शक र पैसाको साथ नै पायो । विभिन्न विवाद हुँदै बल्लतल्ल रिलिज भएको फिल्म निर्माणताका फिल्मको केही विवाद हिट भयो भने फिल्म चाहिँ सुपर फ्लप नै भयो । यसमा केही थिएटर कलाकार भए पनि तिनीहरुको न अभिनय चल्यो, न त निर्देशकको निर्देशकीय कला नै । हुन त सुरुवातमा अरुले नै निर्देशन गरेको फिल्मलाई विवाद मिलाउदै निर्माताले निर्देशकमा आफ्नो नाम राखेका थिए ।

त्यसो त बिना प्रचारप्रसार आगामी भदौ १ गते ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ रिलिज हुँदैछन् । दुवै फिल्ममा चलेका कलाकार भए पनि यिनले पनि कतै माथिकै जस्तो फ्लप फिल्मको हविगत त भोग्ने होइनन् ?