दिनेशको दुई फिल्म आर्यनको हातमा, विग्रिएको सम्बन्ध सुध्रियो

निर्देशक दिनेश राउतका प्रिय नायक हुन् आर्यन सिग्देल । आर्यनसँग दिनेशले ‘आई एम सरी, नोभेम्बर रेन, क्लासिक’ लगायतका फिल्ममा काम गरेका छन् । आर्यन र दिनेश निकै मिल्ने साथी पनि हुन् । तर, ‘क्लासिक’पछि दिनेशको सम्बन्ध आर्यनसँग बिग्रियो ।

यसको पछाडि, आर्यनले दिनेशले भनेको नमान्नु हो । आर्यनसँग दिनेशले फिल्म ‘रेड वाइन’ बनाउने तयारी गरेका थिए । यो फिल्मका लागि आर्यनले आफ्नो तौल घटाउनुपर्ने थियो ।

तर, आर्यनले तौल घटाउन मिहिनेत नै गरेनन् । बरु, आर्यनलाई प्रोत्साहित गर्न दिनेशले नै ८ केजी तौल घटाएका थिए । तर, आर्यन यसबाट पनि प्रभावित भएनन् । 

यसपछि, दिनेश अन्य नायकहरूसँग काम गर्न थाले । आर्यनको करिअर भने डामाडोल नै भयो । 

तर, यी दुई मिल्ने साथी फेरि एक भएका छन् । आर्यनसँग दिनेशले नयाँ फिल्म ‘पुजार सार्की’ घोषणा गरिसकेका छन् । वुझिएअनुसार, आर्यनसँग नै दिनेशले अर्को एक प्रोजेक्ट पनि साइन गरेका छन् । यो प्रोजेक्टको बारेमा अहिले केही पनि बताइएको छैन । 

आर्यन र दिनेश फेरि एक भएका छन् । यी दुइको केमेष्ट्रीले पहिले कमाल गरेको थियो, अब के हुन्छ हेर्न बाँकी छ ।