‘महाजात्रा’को ‘आहा क्या राम्रो’ गीतः पावरफूल छ अडियो र भिडियो

चैत्रको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘महाजात्रा’मा समावेश ‘आहा क्या राम्रो’ बोलको गीत रिलिज गरिएको छ । 

आशिष अविरल र अस्मिता अधिकारीको स्वर, एक नारायण भण्डारीको शब्द र आशिष अविरलकै संगीतमा समावेश यो गीतको अडियो बलियो छ ।गीतको अडियोले दर्शकको मन जित्ने आशा गर्न सकिन्छ । 

गीतको भिडियोमा अतिथि कलाकारद्वय अरुण क्षेत्री र आश्मा विश्वकर्माको धमकेदार डान्स हेर्न सकिन्छ । यस्तै, गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू विपिन कार्की, रवीन्द्र झा, रवीन्द्र सिंह बानियाँ र वर्षा राउतको पनि नृत्य हेर्न सकिन्छ । तर, फिल्मका मुख्य कलाकार हरिवंश आचार्यलाई भने यो गीतमा समावेश गरिएको छैन । 

कविराज गहतराजको कोरियोग्राफी रहेको यो गीतको भिडियोलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । फिल्ममा राजाराम पौडेल, अर्जुन जंग शाही, शिशिर बाङ्देल, मोहन निरौला, पुष्कर गुरुङ, गौमाया गुरुङ, दिव्य देव, राजनी गुरुङ, सुमन कार्की, प्रवीण खतिवडा लगायतका कलाकारको पनि अभिनय छ । 

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको लगानी छ । फिल्मका कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, मित्र डी गुरुङको सम्पादन छ ।