‘डिग्री माइला’को छायांकन सकियो, आउँदो बर्ष ‘कबड्डी ५’ बनाउने रामबाबुको तयारी

निर्देशक रामबाबु गुरुङले फिल्म ‘डिग्री माइला’को छायांकन सकाएका छन् । ४५ दिन लगाएर उनले रुम्जाटारमा फिल्मको छायांकन सकाएका हुन् । असोजको १ गतेदेखि ओखलढुंगाको रुम्जाटारमा यो फिल्मको पहिलो चरणको छायांकन सुरु भएको थियो । दोस्रो चरणको छायांकन काठमाडौंमा सुरु गर्दै रुम्जाटारमा पुगेर सकिएको हो ।

बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको यो फिल्मले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथालाई प्रस्तुत गरेको छ । यसले, नेपालमा बढ्दो बेरोजगारको समस्यालाई फिल्ममा देखाएको निर्माणपक्षले बताएको छ । यो फिल्ममा दयाहाङ राई शीर्ष भूमिकामा छन् ।

साथै, फिल्ममा आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ । यो फिल्मले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई ट्याग लाइन समेत बनाएको छ । फिल्मलाई चैत्रको ३० गतेबाट रिलिज गर्ने तयारी निर्माणपक्षको छ । 

यो फिल्मको छायांकन सकाएका निर्देशक गुरुङले आउँदो बर्ष फिल्म ‘कबड्डी ५’ निर्देशन गर्ने तयारी पनि गरेका छन् । यस्तै, उनले फिल्म ‘सुन्दरबजार’ बनाउने भनेको पनि लामै समय भइसकेको छ । यो फिल्मको कामलाई पनि अगाडि बढाउने उनको तयारी छ ।