‘छक्का पन्जा ५’का लागि पोखरामा अन्डरग्राउन्ड दीपक

केही दिन अगाडि एक टेलिभिजनमा दिएको अन्तवार्तामा निर्माता, लेखक तथा कलाकार दीपकराज गिरीले नेपाली फिल्म कमजोर हुनुको कारण स्क्रिप्ट मात्र रहेको बताएका थिए । नेपाली फिल्म क्षेत्र उद्योग नहुनुको कारण पनि स्क्रिप्ट नै भएको उनको भनाई थियो । 

नेपाली फिल्मका मेकरले फिल्म बनाउन हतार गर्ने र स्क्रिप्ट मिहिनेत गरेको देखिँदैन । यसैले, नेपाली फिल्मले बारम्बार धक्का महशुश गरिरहेका छन् । 

स्क्रिप्ट नै बलियो हुनुपर्छ भन्ने मान्यता राख्दै आएका कलाकार तथा निर्माता दीपकराज गिरी यतिबेला पोखरामा छन् । उनी, पोखराको एक होटलमा रहेर फिल्म ‘छक्का पन्जा ५’को स्क्रिप्ट लेखिरहेका छन् । यसपटक, उनले पोखरामा आफ्ना टिमका कोही पनि सदस्य लगेका छैनन् ।

दीपकले मेरो फिल्मसँग भने–‘म स्क्रिप्टको पहिलो ड्राफ्ट तयार पार्न पोखरामा छु । अझै, कति दिन बस्छु थाहा छैन । पहिलो ड्राफ्ट तयार भएपछि मात्र साथीहरूसँग बस्छु ।’

दीपकले आफू पोखरामा अन्डरग्राउन्ड जस्तै भएर काम गरिरहेको सुनाए । फिल्म ‘छक्का पन्जा ५’ नै तयार गरेर आउँदो बर्षको दशैँमा रिलिज गर्ने तयारी दीपक र उनको टिमको छ । 

दीपकले यसपटक फिल्ममा कस्तो कथावस्तु उठान गर्ने हुन्, केही पनि खुलेको छैन । तर, दीपकको टिमबाट दर्शकले देशको समसामयिक विषयवस्तुलाई रोचक तरिकाले प्रस्तुत गरेको हेर्न चाहन्छन् । दर्शकको मनोभावनालाई राम्रोसँग बुझेका दीपकले यही कथावस्तुलाई नै मुख्य विषयवस्तु बनाउने अड्कल लगाउन सकिन्छ ।