‘गोर्खा वारियर’ नेपालीहरुले गर्व गर्न सक्ने फिल्म होः मिलन चाम्स

फिल्म ‘हँसिया’बाट गोर्खा वारियर’सम्म आइपुग्दा निर्देशक मिलन चाम्सले फरक फरक स्वाद दिने कोशिश गरेका छन् । एक्सन फिल्मदेखि बायोपिकसम्मको कथामा फिल्म बनाएका मिलन चाम्स एउटै लयमा बग्न हुँदैन भन्ने मान्यता राख्छन् । यसैले, उनले आफ्नो निर्देशकीय करिअरमा पटक–पटक नयाँ कथामा कोशिश गरेका छन् । उनै, चाम्सले निर्देशन गरेको फिल्म ‘गोर्खा वारियर’ फागुनको ११ गतेबाट रिलिज हुँदैछ । 

मलायाको जंगलमा गोर्खाली सेनाहरूले देखाएको वीरताको कथालाई उनले पर्दामा उतारेका छन् । निर्देशक चाम्स यो फिल्म आम नेपालीले गर्व गर्न सक्ने फिल्म भएको बताउँछन् । 

चाम्सले यो फिल्मबाट आफू आशावादी रहेको समेत सुनाए । फिल्मको बेलायतमा प्रिमियर सम्पन्न गरिसकेका चाम्सले अब देशका तीन शहरमा पनि प्रिमियरको तयारी गरेका छन् । धरान, पोखरा र काठमाडौंमा फिल्मको प्रिमियर गर्ने तयारी उनको छ । यसका लागि देशका उच्च तहका नेतादेखि फिल्म क्षेत्रका थुप्रै फिल्मीकर्मीलाई प्रिमियरमा निम्तो गरिएको छ । 

नेपाली दर्शकले विगत केही बर्षदेखि एउटै प्रकृतिको फिल्म हेर्दै आइरहेका छन् । मिलन भने, ‘गोर्खा वारियर’ले दर्शकलाई नयाँ स्वाद र देशको माया चिनाउने बताउँछन् । 

नेपाली वीर गोर्खालीहरुले मलायाको जंगलमा कसरी आफ्नो वीरता देखाएका छन् भन्ने कथा यो फिल्ममा देखाइएको छ । फिल्मलाई  प्राविधिक रुपमा पनि बलियो बनाइएकाले नेपाली फिल्मका लागि नयाँ कोशेढुंगा हुने मिलनको दाबी छ । 

फिल्मको ट्रेलरले राम्रो चर्चा पाइरहँदा अहिले देशभरका हलबाट फिल्मको माग आउन थालेको छ । यसले मिलनलाई उत्साहित बनाएको छ । फिल्ममा रितेश चाम्स नयाँ कलाकारको रुपमा छन् । तर, फिल्ममा उनको विकल्पको रुपमा अरूले काम गर्नै नसक्ने मिलनको दाबी छ । फिल्ममा विजय लामा, रेबिका गुरुङ लगायतका कलाकारको पनि अभिनय छ ।