इगोको लडाइमा पिल्सिए चकलेटी नायकहरु

नेपाली फिल्म क्षेत्रका चार चकलेटी स्टार नायकहरूको भिडन्त पक्का भएको छ । नेपाली फिल्म मेकरहरुले इगोको लडाइमा फिल्म जुधाउँदा यस्तो अवस्था सिर्जना भएको हो । 

बारम्बार फिल्म जुध्दा त्यसले बक्स अफिसमा पारेको प्रभावको विषयमा नेपाली मेकरहरुलाई राम्रैसँग जानकारी छ । तर, पनि उनीहरू फिल्म जुधाउन लालायित भएको पाइन्छ । 

आउँदो बर्षको जेठ १० गते हुन लागेको त्रिपक्षिय भिडन्त पनि इगोको उपज हो । जसकाकारण, फिल्म क्षेत्रका स्टारहरू भने पिल्सिएका छन् । 
जेठको १० गते फिल्म ‘फर्की फर्की’का मेकरले प्रदर्शन मिति तोकेका थिए । अनमोल केसी र जसिता गुरुङको मुख्य भूमिका रहेको यो फिल्ममा सुयोग गुरुङको लेखन तथा निर्देशन छ । फिल्मलाई रोहित अधिकारीले निर्माण गरेका हुन् । 

यो मितिमा नायिका पूजा शर्मा र नायक कुन्साङ बोमजोमको मुख्य भूमिका रहेको फिल्म ‘दान्भी’ पनि रिलिज हुने भयो । यसलाई पूजा र अनमोलबिचको इगोको लडाइको रुपमा हेरिएको छ । 

अब, यही मितिमा फिल्म ‘पुजार सार्की’ पनि रिलिज हुने भएको छ । दिनेश राउतको निर्देशनमा तयार भएको फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह मुख्य भूमिकामा छन् । 

फिल्म क्षेत्रका स्टारहरू एकसाथ भिड्नु आफैंमा दुःखद कुरा हो । यी फिल्महरूलाई सल्लाहमा मिलेर रिलिज गर्न सकिन्थ्यो । तर, यहाँ इगोले सर्वाधिक धेरै काम गर्न पुग्यो । जसकाकारण, जेठको १० गते त्रिपक्षिय भिडन्त पक्का भएको हो । 

के हो लफडा ?

विशेषगरि, फिल्म ‘फर्की फर्की’का निर्माता रोहित अधिकारी र ‘पुजार सार्की’का निर्देशक दिनेश राउतबिचको इगोको लडाइमा चार चकलेटी नायकहरू पिल्सिने भएका छन् । दिनेश र रोहितबिचको लफडा एउटा फिल्मका कारण उत्पन्न भएको हो ।

सोही कारण, टिमका अन्य सदस्यहरूको सल्लाहलाई समेत वेवास्ता गर्दै दिनेशले जेठ १० को मितिलाई लक गरेको वुझिएको छ । विशेष स्रोतले मेरो फिल्मलाई भन्यो–‘टिमका अन्य व्यक्तिहरूले दिनेश राउतलाई खुबै सम्झाएका थिए । तर, उनी जेठ १० मा जसरी पनि आउने अडानबाट पछि हटेनन् । यसले गर्दा, दिनेश र टिमका अन्य केही सदस्यहरूको सम्बन्धमा नै खलल पुग्न सक्ने अवस्था सिर्जना भएको थियो ।’

रोहितको निर्माणमा दिनेशले निर्देशन गर्ने सहमति सहित फिल्म ‘२६ करोड’को तयारी थालिएको थियो । तर, यो फिल्म निर्माणमा ढिलाई भयो । रोहितले दिनेशलाई पारिश्रमिकको पहिलो किस्ता स्वरूप ८ लाख रुपैयाँ पनि दिइसकेका थिए । तर, फिल्म नबन्ने अवस्था आएपछि रोहित र दिनेश एक अर्कासँग गाली गलौजमा नै उत्रिएका थिए ।

यसपछि, रोहितले दिनेशसँग ८ लाख रुपैयाँ फिर्ता मागेका थिए । दिनेशले पनि रोहितलाई उक्त रकम फिर्ता गरे । तर, उनीहरुबिचको इगो भने सकिएको छैन । दिनेशले सोही विषयमा इगो लिएर यसपटक फिल्म जुधाएको देखिन्छ । 

निर्माता र निर्देशकबिचको इगोका कारण आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको फिल्म अनमोल केसीसँग जुध्ने पक्का भएको छ । चार चकलेटी नायकहरू इगोको लडाइमा नमज्जाले पिल्सिने देखिएको छ ।