गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी, श्रीमतीले दिइन् बलात्कारको उजुरी

‘नेपाल आइडलको सिजन २’का विजेता रवि ओड विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोप लगाउँदै उजुरी दिएपछि उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, जिल्ला अदालतको अनुमति लिएर उनलाई पक्राउ पुर्जी जारी गरिएको हो । चैत्रको २० गते ओडकी श्रीमतीले प्रहरीमा उजुरी दिएकी थिइन् । 

प्रहरीले उनको खोजी तीव्र पारेको बताएको छ । तर, उनी पक्राउ भने परेका छैनन् । गायक ओडले फिल्म ‘द्रोपती’मा पनि अभिनय गरिरहेका छन् ।

ऋषिराज आचार्यको निर्देशनमा तयार भइरहेको यो फिल्मको छायांकन केही दिन अगाडिबाट सुरु भएको थियो । नेपाल आइडलको दोस्रो सिजन जितेपछि ओड चर्चामा थिए । ओडको स्वरमा समावेश केही गीतहरू चर्चामा छन् ।