‘डिग्री माइला’ हामीले बाँचिरहेको समय भन्ने फिल्म होः दयाहाङ राई

नायक दयाहाङ राईले फिल्म ‘डिग्री माइला’ अहिलेको पुस्ताले बाँचिरहेको समयको फिल्म भएको बताएका छन् ।

मेरो फिल्मसँग कुराकानी गर्दै दयाले भने–‘हामी अघिल्लो पुस्तासँग संगत गर्न डराइरहेका छौं र आगामी पुस्तासँग बढी अपेक्षा राखेर हिँडेका छौं । पहिलेकाले केही पनि भनेनन् तर अबका लागि गर्छन् भन्ने खालको पुस्तामा हामी छौं । नेपालको राजनीति पनि लामो समयदेखि घुमिरहेको छ । डिग्री माइलाको कथालाई यो विषयले तानेको छ ।’

दयाले अगाडि भने–‘अहिलेको अवस्थामा डिग्री पास गरेको व्यक्तिलाई न त समाजले माथिको सोच्छ, न त उसलाई पत्याउँछ नै । यस्तो अवस्थामा उ किन यति धेरै गफाडी भयो ? केही कारण विना त उ यस्तो पक्कै पनि भएको छैन । हामी सही बाटोमा पनि हिँड्न नसकिरहेको अवस्था छ । यसैले, यो फिल्म हामीले बाँचिरहेको समयको फिल्म हो ।’

दयाका अनुसार, आफ्नो सपना पुरा गर्नका लागि हामीले मुखले मात्र गफ दिइरहेका छौं या काम पनि गरिरहेका छौं भन्ने कथालाई यो फिल्मले देखाएको छ । राईले भने–‘हामीले मिहिनेत पनि गरिरहेका छौं कि मुल्यांकन पनि खोजिरहेका छौं भन्ने कथा फिल्मले भन्छ ।’

रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, आँचल शर्मा, माओत्से गुरुङ, पुस्कर गुरुङ, कमलमणी नेपाल, वुद्दि तामाङ लगायतका कलाकारको अभिनय छ । चैत्रको ३० गतेबाट यो फिल्म रिलिज हुँदैछ ।