आँचलको गुनासो–‘मैले कमाएको चै कमाएको होइन कसरी ?’

नायिका आँचल शर्माले आफ्नो विषयमा सामाजिक संजाल तथा मिडियामा हुने गरेका विभिन्न खालका टिप्पणीको खुलेर जवाफ दिएकी छिन् । मेरो फिल्मसँग विशेष कुरा गर्दै आँचलले आफ्नो आम्दानीको विषयमा हुने गरेका टीकाटिप्पणीको जवाफ दिइन् ।

आँचलले भनिन्–‘अरु नायिकाले कमाएको चै कमाएको हुने, मैले कमाएको चै कमाएको नहुने, कसरी ? मैले पनि मिहिनेत गरिरहेको छु । म पनि व्यस्त छु । म केही कलाकार भन्दा बढी व्यस्त छु भने केही भन्दा कम व्यस्त छु होला । तर, काम भने निरन्तर गरिरहेको छु । मेरो श्रीमान् आर्थिक रुपमा केही बढी सबल हुनु भयो भन्दैमा मैले कमाएको चै कमाएको नै नहुने भन्ने हुन्छ र ?’

आँचले यो विषयमा सबैले बुझ्नुपर्ने तर्क गर्दै निदाएको नाटक गर्नेहरूलाई व्यूझाउन नसकिने बताइन् । उनले भनिन्–‘अहिले मलाई आलोचना, ट्रोलदेखि खासै गुनासो लाग्दैन । मैले ट्रोलसँग हाँस्न सिकेकी छु । यो कलाकारको सकारात्मक र नकारात्मक पाटो हो ।’

उनले अगाडि भनिन्–‘फेरि किन रिसाउने ? मानिसले आ आफ्नो विचार व्यक्त गर्न पाउँछन् । कोही पनि सही र गलत हुँदैनन् । मैले अचेल बुझिसकेको छु । मान्छे के हो भन्ने मैले बुझिसकेको छु ।’

चैत्रको ३० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘डिग्री माइला’को विषयमा कुरा गर्दै आँचलले दर्शकले मन पराउने विश्वास व्यक्त गरिन् । उनले भनिन्–‘यो फिल्म हेरिसकेपछि दर्शकले मलाई राम्रोसँग याद गर्नुहुन्छ । आँचलले एउटा परिपक्व भूमिका गरेकी रहिछन् भनेर प्रतिक्रिया दिनुहुन्छ जस्तो लाग्छ ।’

आँचलले आफू अचेल काममा बढी नै गम्भीर भएको पनि बताइन् । उनका अनुसार, अहिले उनलाई काम गर्दा उत्कृष्ट गर्ने रहर झनै जागेको छ । श्रीमान् उदीप श्रेष्ठलाई पर्फेक्ट काम गरेर देखाउन मन लाग्ने आँचलको तर्क छ । 

फिल्म ‘एक मुठ्ठी बादल’को केही दिन अगाडि मात्र छायांकन सकाएकी आँचलले आफ्नो कामबाट सन्तुष्टि व्यक्त गरिन् । भनिन्–‘यो फिल्ममा मैले आफ्नो अभिनय देखाउन पाएकी छु । यस्ता फिल्ममा काम गर्ने रहर पहिलेदेखि नै हो । अहिले पुरा भएको छ ।’