‘मनसरा’को कविता कन्सर्ट

वैशाखको २१ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मनसरा’को टिमले प्रचारमा नयाँपन अपनाइरहेको छ । फिल्मको तीव्र प्रचारका क्रममा यसको टिम देश दौडाहामा छिन् । फिल्मको निर्माण टिमले यसअघि पोखरा र बुटवलमा कविता कन्सर्ट गरेर अहिले पूर्वी नेपालमा कविता सुनाइरहेको छ ।

पूर्वी नेपालको बिर्तामोडबाट सुरु भएको कविता कन्सर्ट इटहरी पुगेर सकिनेछ । कवि तथा निर्देशक उपेन्द्र सुब्बाले बिर्तामोडमा आधा दर्जन भन्दा बढी कविता सुनाएका थिए । कार्यक्रममा नायिका मिरुना मगरले आफ्नी आमाले रचना गरेको कविता सुनाएकी थिइन् ।

यस्तै, कलाकारहरू मेनुका प्रधान, प्रवीण खतिवडा, जीवन बरालले कवि सुब्बाले लेखेका कविता वाचन गरेका थिए । फिल्मको टिमले आज इटहरी र बेलबारीमा कविता कन्सर्ट गर्दै मोफसलको प्रचारलाई टुङ्ग्याउनेछ ।

यो फिल्ममा नायक दयाहाङ राई, नायिका मिरुना मगर, कलाकारहरू प्रवीण खतिवडा, मेनुका प्रधान, हेमन्त वुढाथोकी, शान्ति गिरी, नेनहान राइको अभिनय छ ।

निर्देशक सुब्बाकै लेखन रहेको फिल्ममा शैलेन्द्रध्वज कार्कीको छायांकन तथा निर्माण छ । विष्णु कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह–निर्माता हुन् । 

फिल्ममा निमेष श्रेष्ठको सम्पादन छ । सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्मले बक्स अफिसमा उत्साहजनक व्यापार गर्ने भएको छ ।