दयाहाङ हाबी नहुँदा ‘मनसरा’मा फक्रिएका प्रविण

फिल्म ‘रङ्गेली’मा पनि कलाकार प्रवीण खतिवडाले गज्जबको काम गरेका थिए । प्रहरी अफिसर्सको रुपमा काम गरेका उनको चर्चा भने खासै भएन । कारण, फिल्मको प्रचार नै नायक दयाहाङ राई र नायिका मिरुना मगरको जोडीका कारण भयो । फिल्म असफलताको जिम्मा पनि दया र मिरुनाकै पोल्टामा गएको थियो । 

तर, फिल्म ‘मनसरा’मा भने प्रवीण खुल्न पाएका छन् । प्रवीण फुल्न र फक्रिन पाएका छन् । जसबाट, उनले कुन तहको अभिनय गर्न सक्छन् भन्ने पुष्टि हुन्छ । 

फिल्ममा दयाहाङ राई र मिरुना मगर दुबै छन् । तर, फिल्ममा दयाहाङ राई हाबी छैनन् । उनको भूमिका जति छ, त्यो महत्वपूर्ण छ । तर, स्क्रिन स्पेशमा प्रवीणले खुल्न र खेल्न पाएका छन् । 

फिल्मका निर्देशक उपेन्द्र सुब्बाले कथावाचनसँगै साहित्यलाई प्रमुख स्थान दिएका छन् । साहित्यलाई फिल्ममा कसरी जोड्नुपर्छ भन्ने  उनले राम्रैसँग सिकाइदिएका छन् । अनि, त्यो भन्ने सारथी प्रवीण बनेका छन् । जसले, उपेन्द्रको सोचलाई पर्दामा अभिनयको माध्यमबाट फोटोकपीको रुपमा उतारिदिएका छन् । 

फिल्ममा ‘बाहुन बाजे’को रुपमा अभिनय गरेका प्रवीणको कमेडी टाइमिङदेखि भावुक अभिनय, संवादको शैली गज्जब छ । उनी पर्दामा हाबी छन् । तर, दर्शकलाई कही कतैबाट पनि उनले दिक्क हुन दिएका छैनन् । 

‘मनसरा’ले प्रवीणलाई फुल्न मात्र दिएको छैन, उनको करिअरलाई पनि नयाँ उचाइमा लैजाने पक्का छ । ‘मनसरा’ हेर्न दर्शक जे जस्ता कारणले हल पुगेपनि, फर्किँदा प्रवीणको फ्यान भएर फर्किन्छन् ।