‘वर एण्ड बधु’की कुसुम

मोडलिङबाट फिल्म क्षेत्रमा प्रवेश गर्ने दौडमा रहेकी कुसुम शर्मा हाल धमाधम फिल्म ‘वर एण्ड बधु’को छायांकन गरिरहेकी छिन् । 

मिलन चाम्सको निर्देशनमा तयार भइरहेको यो फिल्मको काठमाडौंमा केही दिनदेखि धमाधम छायांकन चलिरहेको छ । फिल्मको सेटमा मुख्य नायक विवेक कर्माचार्य, कलाकार किरण केसी र नव–कलाकार कुसुम शर्मा जोडिएका छन् । नायिका आँचल शर्मा भने ‘डिग्री माइला’को शोका लागि हङकङमा छिन् । 

निर्माण टिमले सामाजिक संजालमा शेयर गरेका तस्विरमा पनि कुसुम फिल्मलाई लिएर निकै उत्साहित देखिएकी छिन् । फिल्ममा उनको भूमिका के हो भन्ने खुलाइएको छैन । 



एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भइरहेको यो फिल्मका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् । 

फिल्म ‘बर एण्ड बधु’ले सामाजिक कथालाई रमाइलोसँग भनेको निर्देशक चाम्स बताउँछन् । साथै, उनले कुसुमको भूमिकाले दर्शकलाई सरप्राइज दिने पनि बताए । 

फिल्ममा श्रृष्टी खड्का, हिमेश पन्त लगायतको पनि अभिनय छ । सुदिप बरालको छायांकन रहेको फिल्ममा हिमाल केसीको एक्सन छ । फिल्मको प्रदर्शन मिति तय गरिएको छैन । छायांकन सकिए लगतै फिल्मको रिलिज मिति तय गर्ने तयारी निर्माणपक्षको छ । 

यो फिल्मको पहिलो चरणको छायांकन रोमानियामा भएको थियो ।