‘मनसरा’लाई प्रिमियरमा गज्जबको प्रतिक्रिया

भोलि शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘मनसरा’को भव्य प्रिमियर ललितपुरको लाबिम मलमा रहेको क्यूएफएक्स हलमा गरिएको छ ।

प्रिमियरमा फिल्मका कलाकार तथा केही फिल्मीकर्मीहरुको उपस्थिति थियो । फिल्म हेर्नका लागि निर्देशकहरू निश्चल बस्नेत, प्रदीप भट्टराई, दीपेन्द्र लामा, अशोक शर्मा, निर्माता रविन्द्र सिंह बानियाँ, कलाकारहरू खगेन्द्र लामिछाने, सुरक्षा पन्त, मलिका महत, कुन्साङ बोमजोम, परीक्षा लिम्बु लगायत पुगेका थिए । फिल्म हेरेपछि निर्देशक निश्चल बस्नेतले मुक्तकण्ठले प्रशंसा गरे ।

उनले, फिल्ममा साहित्य जरुरी छ भन्ने कुरा निर्देशक उपेन्द्र सुब्बाले प्रमाणित गरेको बताए । यस्तै, कलाकार खगेन्द्र लामिछानेले आफूलाई फिल्म निकै मन परेको बताए । फिल्ममा निर्देशकले सामाजिक कथालाई गहन रुपमा प्रस्तुत गरेको सुनाए ।

फिल्ममा साहित्यलाई गज्जब तरिकाले जोडिएको उनको भनाई थियो । निर्देशक प्रदीप भट्टराईले फिल्म क्षेत्रमा फरक–फरक फिल्म आउनुपर्ने बताउँदै ‘मनसरा’ त्यस्तै एउटा फिल्म भएको बताए । नायिका सुरक्षा पन्तले फिल्म हेर्दा निकै आनन्द आएको तर्क गरिन् । 

यो फिल्मको प्रिमियरमा उपस्थिति अधिकांशले निर्देशक उपेन्द्र सुब्बाको निर्देशकीय क्षमता र नायक प्रवीण खतिवडाको कामको खुलेरै तारिफ गरे । यो फिल्म रिलिज भएपछि प्रवीणले करिअरमा नयाँ फड्को मार्ने धेरैको विश्लेषण छ ।

फिल्ममा नायिका मिरुना मगर, मेनुका प्रधानको अभिनय पनि उत्कृष्ट छ । नायक दयाहाङ राईलाई भने फिल्मको आवश्यकता अनुसार नै स्थान दिइएको छ । फिल्मका निर्माता शैलेन्द्र ध्वज कार्की हुन् ।