बढ्दैछ नायिका केन्द्रित फिल्मको दबदबा

वैशाखको १४ गतेबाट रिलिजमा आएको फिल्म ‘बोक्सीको घर’ले दोस्रो साताको शनिबार पनि आक्रामक व्यापार गर्यो । यो फिल्मले पहिलो सातामा पनि उत्कृष्ट कमाई गरेको थियो । फिल्मले अझै केही साता हलमा राम्रो व्यापार गर्ने देखिन्छ । यो फिल्ममा नायिका केकी अधिकारी, बाल–कलाकार सुपला सापकोटा लगायतको अभिनय छ । फिल्मको केन्द्रीय भूमिकामा केकी अधिकारीले अभिनय गरेकी छिन् । 

वैशाखको २१ गतेबाट रिलिजमा आएको फिल्म ‘मनसरा’को केन्द्रीय भूमिकामा नायिका मिरुना मगरले काम गरेकी छिन् । मिरुनाको अभिनयले यो फिल्ममा प्रशंसा पाइरहेको छ । फिल्ममा प्रवीण खतिवडा पनि हाबी छन् । तर, फिल्मको कथा मिरुना वरिपरी नै घुमेको छ । फिल्मको प्रचारमा पनि निर्माणपक्षले मिरुनाको सिंगल तस्विर राखेर दर्शकसमक्ष पुग्ने कोशिश गरेको थियो । 

यी दुई फिल्महरू त उदाहरण मात्र हुन् । यो बर्ष नेपालमा नायिका केन्द्रित फिल्महरूको संख्या बढ्ने देखिन्छ । असारको ७ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘दान्भी’को मुख्य केन्द्रमा नायिका पूजा शर्मा छिन् । पूजाले फिल्ममा गरेको एक्सनका दृश्यले तारिफ पाइरहेको छ । सम्पादन टेबुलमा फिल्म हेरेका केही फिल्मीकर्मीहरुले पनि एक्सनको खुलेरै तारिफ गरेका छन् । यो फिल्म चलेको खण्डमा पूजालाई धेरै फाइदा हुनेछ । 

नायिका आँचल शर्मालाई मुख्य भूमिकामा राखेर फिल्म ‘एक मुठ्ठी बादल’को छायांकन सकिएको छ । यो फिल्ममा अधिकांश टिम नै महिलाको राखिएको छ । आँचल यो फिल्ममा आफ्नो अभिनय  दर्शकले हेर्न पाउनेमा उत्साहित छिन् । यो फिल्म चलेको खण्डमा आँचलको अभिनयले तारिफ पाउनेछ । 

यता, लक्ष्मण सुवेदीले निर्देशन तथा निर्माण गरेको फिल्म ‘सतिदेवी’ पनि चर्चामा छ । यो फिल्ममा नायिका मलिका महत प्रमुख भूमिकामा छिन् । मलिकाको वरिपरी नै फिल्म घुमेको छ । यो फिल्म चलेको खण्डमा मलिकाको करिअरलाई निकै फाइदा हुने देखिन्छ । यो फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन ।

नेपाली फिल्मका मेकरहरुले नायिकालाई केन्द्रमा राखेर फिल्म बनाउन खासै खोज्दैनन् । नायिकाहरूलाई सिंगल रुपमा उभ्याउँदा व्यापार अपेक्षित हुँदैन भन्ने उनीहरुको तर्क छ । यसअघि नायिका निरुता सिंह, रेखा थापामाथि निर्माताको बढी विश्वास थियो । अहिलेको समयमा भने नायिकामाथि निर्माताहरू कमै मात्र विश्वास गर्छन् । 

तर, यो बर्ष ‘बोक्सीको घर, मनसरा’ जस्ता फिल्मले दर्शकको साथ पाइरहँदा मेकरले नायिका केन्द्रित फिल्ममा बढी ध्यान दिने देखिएको छ । यसले, नेपाली फिल्मको कथा भन्ने शैली पनि परिवर्तन गर्नेछ ।