प्रकाश सपुतले घोषणा गरे ‘बसन्त’, स्वस्तिमासँग जोडी पक्का

गायक प्रकाश सपुतले नयाँ फिल्म निर्देशनको घोषणा गरेका छन् । सपुतको निर्देशनमा बन्न लागेको यो फिल्मको नाम ‘बसन्त’ राखिएको छ । 
काठमाडौंमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा गायक सपुत र नायिका स्वस्तिमा खड्काको मुख्य भूमिका रहने फिल्मको घोषणा गरिएको हो । 

फिल्ममा अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेको पनि अभिनय रहनेछ । फिल्ममा संगीत र पटकथा पनि सपुतकै छ । यो फिल्मको प्रदर्शन मिति यही बर्षको चैते दशैँलाई घोषणा गरिएको छ । कार्यक्रममा फिल्मको घोषणा भिडियो पनि सार्वजनिक गरिएको थियो । जहाँ, स्कुले जीवनमा रमाएका एक युवक र एक युवतीको अन्तरजातिय प्रेमलाई देखाइएको छ । 

यो फिल्मले गायक सपुतकै गृह जिल्ला बागलुङको सेरोफेरोको कथा भन्नेछ । फिल्ममा प्रकाशले शीर्ष भूमिकामा अभिनय गर्दैछन् भने स्वस्तिमाले शान्ति पात्रको भूमिका निर्वाह गरेकी छिन् । 

कार्यक्रममा सपुतले भने–‘यो फिल्मको कथा मेरै जीवनको आधा कथा हो भन्दा फरक पर्दैन । मलाई धेरै व्यक्तिहरूले पहिलो फिल्ममा कमर्सियल कथा खोज्न पनि आग्रह गरेका थिए । तर, मलाई सुरुवातमा आफ्नै कथा भन्न मन लाग्यो । पहिला आफ्नै कथा भनेर सक्छु अनि अरु कथा खोज्छु भन्ने लागेर बसन्त निर्देशन गर्ने योजना बनाएको हुँ ।’

नायिका स्वस्तिमा खड्काले आफूले सपुतलाई विश्वास गरेको बताए । उनले भनिन्–‘यो फिल्मले समाजको कथा भन्नेछ । सपुतजीको सोचका कारण मैले उहाँसँग आत्मसमर्पण गर्न सकेकी हुँ ।’

यो फिल्ममा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन कार्यकारी निर्माताको रुपमा छन् ।