स्वस्तिमा खड्काः एक भर्सटायल नायिका

नेपाली फिल्मको कथा भन्ने भाषा बदलिँदैछ । नायिका स्वस्तिमा खड्काको भाषालाई सापटी लिने हो भने पनि नेपाली फिल्मको विषयमा लिइने रुढीवादी सोचहरु विस्तारै भत्कदैछन् । नायिका एक्लैले फिल्म चलाउन सक्दैनन्, बिहे गरेपछि नायिकाको फिल्म चल्दैन, ३० कटेका नायिका चल्न सक्दैनन् भन्ने जस्ता भाषाहरू बदलिदैछन् । 

यी रुढीवादी चिन्तनहरू भत्काउने कुरामा स्वस्तिमा जस्ता नायिकाहरूको हात ठूलो छ । नेपाली फिल्म क्षेत्रमा ‘होस्टेल रिटन्र्स’बाट करिअर सुरुवात गर्दा स्वस्तिमा खड्का आफैंलाई पनि फिल्म क्षेत्रमा लामो समयदेखि जरा गाडेर बसेको रुढीवादी चिन्तन भत्काउन सकिन्छ भन्ने लागेको थिएन होला । तर, आज नायिकाहरू यो प्रयासमा लागिरहेका छन् । धेरै हदसम्म उनीहरू सफल पनि भएका छन् । 

स्वस्तिमाको फिल्मी करिअरलाई हेर्ने हो भने पनि उनले आफूलाई हरेक तरिकाबाट प्रमाणित गरिसकेकी छिन् । स्वस्तिमाको करिअरको ग्राफ फिल्म ‘बुलबुल’मा काम गरेपछि ह्वात्तै बढेको हो ।

उनले ‘बुलबुल’मा एक ट्याम्पो चलाउने महिला चालकको भूमिकामा काम गरिन् । यसबाट पाएको ठूलो सफलताले स्वस्तिमालाई हौसला दियो । उसो त, उनको हातमा कमर्सियल फिल्मको पनि लाइन लामो छ । ‘छक्का पन्जा २’मा मुख्य भूमिका मात्र नभएर, उनले ‘छक्का पन्जा ४’को एउटा गीतमा समेत नृत्य गरेकी छिन् । साथमा उनले ‘नाई नभन्नु ल ५’मा पनि काम गरेकी छिन् । 

तर, उनलाई ‘चिसो मान्छे’ले पनि राम्रैसँग दर्शकमाझ साक्षात्कार गरायो । यो फिल्ममा उनले गरेको अभिनयको चौतर्फी तारिफ भएको थियो । 

उनै, स्वस्तिमा अब गायकबाट नायक हुँदै निर्देशक बन्न लागेका प्रकाश सपुतको नयाँ फिल्म ‘बसन्त’मा काम गर्दैछिन् । यो फिल्ममा उनको स्कुले ड्रेसको गेटअपले धेरैको ध्यान तानिसकेको छ । 

यो फिल्म उनको वरिपरी घुमेको छ । साथमा, ‘बसन्त’सँग मिलेर उनले गर्ने जातीय विद्रोह पनि दर्शकका लागि रोचक पक्कै हुनेछ । 

समय भर्सटायल अभिनय गर्ने कलाकारको छ । दर्शक हिजोआज पर्दामा फिल्मको कथावस्तुमा रमाउन थालेका छन् । स्वस्तिमाले आफूलाई समय अनुसार बदलेकी छिन् । यसैले, आज उनी फिल्म क्षेत्रको भर्सटायल मात्र नभएर नम्बर १ नायिका समेत बनेकी छिन् ।