‘पुजार सार्की’बाट परिचय फेरिने प्रदिपको आशा

नायक प्रदीप खड्का जेठको १० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘पुजार सार्की’लाई लिएर उत्साहित छन् । उनले निर्वाह गरेको ‘मैत बहादुर’को भूमिका दर्शकका लागि पनि प्रतीक्षित छ । 

फिल्म ‘पुजार सार्की’मा प्रदीपको भूमिकाले दर्शकलाई पूर्ण रुपमा मनोरञ्जन दिने तर्क अर्का नायक आर्यन सिग्देलको पनि छ । मेरो फिल्मसँगको कुराकानीमा आर्यनले भनेका छन्–‘प्रदिपको अभिनय यदि राम्रो  थिएन भने पनि उसले मिहिनेत गरेर राम्रो बनाउन सक्छ । उ निकै मिहिनेती कलाकार हो । उसको काम गर्ने शैली देखेर म आफै पनि छक्क छु ।’

फिल्म ‘प्रेमगीत’मा काम गरेपछि प्रदीपलाई दर्शकले ‘प्रेम’ भनेर चिन्छन् । तर, यसपछि उनले केही फिल्ममा काम गरेपनि ती फिल्ममा उनको परिचय बदलिन सकेन । तर, यसपटक भने फिल्म ‘पुजार सार्की’को ‘मैतबहादुर’को भूमिकाले आफ्नो परिचय बदल्ने प्रदीपको तर्क छ । दर्शकले यो फिल्म रिलिज भएपछि आफूलाई ‘मैतबहादुर’को नामले चिन्ने प्रदीपको दाबी छ । 

यो फिल्ममा काम गर्दा प्रदीपले निकै इन्जोय गरेका छन् । दर्शकले पनि आफ्नो भूमिकामा कनेक्ट हुने र निकै रमाइलो गर्ने प्रदीपको भनाई छ । 

यो फिल्ममा आफू निकै नै बोल्ने, चुलबुले भूमिकामा रहेको प्रदीप सुनाउँछन् । नायक खड्काको लाइनअपमा ७ वटा फिल्म छ । यसकारण, यो फिल्मको व्यापार उनका लागि पनि निकै महत्वपूर्ण छ ।

तर, फिल्म हेरेपछि दर्शकले आफूले गरेको भूमिकामा आफूलाई पाउने प्रदीपको तर्क छ । 

दिनेश राउतको निर्देशनमा विकास सुवेदीले लेखेको यो फिल्म जेठको १० गतेबाट रिलिजमा आउँदैछ । फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना बराइली, परीक्षा लिम्बु लगायतका कलाकारको अभिनय छ । फिल्मका निर्माता तथा संगीतकार सुभाष भुसाल हुन् ।