यस्तो छ दयाहाङको ‘गाउँ आएको बाटो’को टिजर

नायक दयाहाङ राई, कलाकारहरू पशुपति राई, प्रसना राई, प्रेम सुब्बा, केशव राई, राज थापा, सुमित्रा राई लगायतका कलाकारले अभिनय गरेको फिल्म ‘गाउँ आएको बाटो’को टिजर सार्वजनिक भएको छ ।

जेठको २५ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको टिजरमा गाउँमा गाडी आएपछिको खुशीलाई समेटिएको छ । विभिन्न फेस्टिभलहरुमा समेत सहभागिता जनाएर अवार्ड पाएको यो फिल्मलाई नबिन सुब्बाले निर्देशन गरेका हुन् । फिल्ममा अमोद राई र नबिन सुब्बाको लगानी छ ।

फिल्मका कार्यकारी निर्माता सञ्जु राई, देवराज राई, नारहाङ राई, भीम राई हुन् । महेश राइको कथा रहेको फिल्ममा नबिन सुब्बा र महेशले मिलेर पटकथा लेखेका छन् । जोस हेरुमको छायांकन रहेको यो फिल्ममा क्वान पुन लेङ्गको सम्पादन, हेइडी लिको संगीत छ । 

धरानको एक विकट गाउँमा गाडी आएपछि बाबु र छोराको सम्बन्धमा उत्पन्न हुने परिस्थितिको कथालाई यो फिल्मले देखाएको छ ।