‘खजुरे ब्रो’को प्रिमियर, कस्तो छ नीतिको काम ?

शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘खजुरे ब्रो’को मंगलबार बेलुकी काठमाडौंमा प्रिमियर गरिएको छ । यसको निर्माणपक्षले आज भने धरानमा फिल्मको प्रिमियर गर्दैछ । यो फिल्मले साथीसँगको सम्बन्ध, पैसाले श्रीमान् श्रीमतीको सम्बन्धमा ल्याउने उतार चढावको कथालाई भनेको छ ।

सवा २ घन्टा लामो फिल्मले मनोरञ्जन दिने प्रिमियरबाट फर्किएका फिल्मीकर्मी र पत्रकारले बताए । यो फिल्ममा महेश त्रिपाठी, रेअर राई, नविन मानन्धर, नीति शाह, पुस्कर कार्की, बिनिता थापा मगर, शान्तिला तामाङ लगायतका कलाकारको अभिनय छ ।

सुरज सुनुवारको निर्देशनमा तयार भएको यो फिल्मको छायांकन काठमाडौं, दार्जिलिङ, धरान र इटहरीमा गरिएको छ । फिल्मले धरानको स्थानीय कला तथा मौलिक लवजलाई विशेष तरिकाले प्रस्तुत गरेको छ ।

दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा यो फिल्म तयार पारेको हो । नवीन मानन्धर र सुरज सुनुवार निर्माता रहेको फिल्ममा सुनिल श्रेष्ठ, अनिल मानन्धर, पिकेश मानन्धर सह–निर्माताको रुपमा छन् । फिल्ममा शिशिर विशंखेको छायांकन, मित्र डी गुरुङको सम्पादन, अनमोल गुरुङको संगीत छ । 

फिल्म हेरेका अधिकांश कलाकार रेअर राइको प्रशंसा गरेका थिए । डेब्यू फिल्म भएकाले पनि नायिका नीति शाहका लागि यो फिल्म विशेष छ ।