सिक्किमको फिल्म फेस्टिभलमा बलिउडकी मलाइका देखि नेपालका अनमोल केसीसम्मलाई निम्तो

 

काठमाडौँ- सिक्किम सरकारले आउँदो डिसेम्बरको १० देखि १४ तारिखसम्म राजधानी गान्तोकमा ग्लोबल फिल्म फेस्टिभल गर्दैछ । यो फेस्टिभलमा बलिउडसँगै नेपाली कलाकारले पनि सहभागिता जनाउँदैछन् । सिक्किमको फिल्म प्रमोसन बोर्डले आइतबार एउटा पोस्टर जारी गर्दै महोत्सवमा सहभागी हुने कलाकारको नाम सार्वजनिक गरेको छ । यसका लागि नेपाली र बलिउड फिल्म क्षेत्रका निर्माता र सेलेव्रिटीलाई समेत निम्तो दिइएको छ । बलिउडबाट मलाइका अरोराले भाग लिनेछिन् भने, नेपालबाट अनमोल केसीलाई समेत निम्तो दिइएको छ । सार्वजनिक पोस्टरमा नेपालबाट भुवन केसी, अनमोल केसी, दयाहाङ राई, नम्रता श्रेष्ठ, अदिति बुढाथोकी, विनय श्रेष्ठ अटाएका छन् । यसमध्ये भुवन केसी त भर्खरै मात्र यही फेस्टिभलको सिलसिलामा छलफल गर्न सिक्किम पुगेर फर्किएका थिए ।

फेस्टिभलमा सहभागी नेपाली नाममध्ये अदिती बुढाथोकी अहिले नै सिक्किमा सुटिङ गरिरहेकी छिन् भने नम्रता र विनय श्रेष्ठ पनि केही समयपछि नै सुटिङका लागि सिक्किम पुग्दैछन् । सारुक ताम्राकारसमेत महत्वपूर्ण भूमिकामा रहने यो फिल्म सिक्किममा सुटिङ गर्न लागिएको चर्चा छ । सिक्किमले बलिउडबाट भने उति ठूला सेलेब्रेटी निम्त्याउन सकेको छैन । प्रमोसन बोर्डले सार्वजनिक गरेको पोस्टरमा बलिउडबाट मलाइका अरोरालाई स्टार सेलेब्रेटी र क्याम्पेनरको रुपमा स्थान दिएको छ भने बाँकी अधिकांश अनुहार निर्देशक छन् । यो लिस्टमा भने चिनिएका प्रियदर्शन, अभिनव कश्यप र अनन्त महादेवन अटाएका छन् ।