एलिजा र कुन्साङको ‘घुइँचो’

काठमाडौं – नायिका तथा मोडल एलिजा गौतमले नयाँ फिल्म ‘घुइँचो’साइन गरेकी छन् । नयाँ बानेश्वरको एभरेस्ट होटलमा आयोजित कार्यक्रममा निर्माण टिमले एलिजाको जोडीको रुपमा कुन्साङ बोमजन र निर्देशकको रुपमा दीपेन्द्र लामालाई अनुबन्ध गरेको जनाएको हो । निर्देशक दीपेन्द्र लामा र कुन्साङ दुवैले ‘घुइँचो’ दर्शकको रुचिलाई मध्येनजर गरी निर्माण गर्ने अपेक्षा व्यक्त गरे । निर्देशक दीपेन्द्र लामाले एलिजा गौतमसँग तेस्रो प्रयासमा सहकार्य जुरेको रहस्य खोले । ‘उहाँसँग काम गर्न भनेर यसअघि पनि दुई चोटि प्रस्ताव आएका थिए । बल्ल तेस्रोमा आएर मौका मिल्यो,’ लामाले भने ।

उनले उद्योगमा फिल्म बन्ने काम तीब्र भए पनि पर्याप्त कलाकार नहुँदा निर्माताले सास्ती भोगेको यथार्थ सुनाउँदै कुन्साङ जस्ता कलाकारको उपस्थितिले निर्माता निर्देशकले रोज्जा कलाकार पाउने बताए । अभिनेत्री एलिजाले पहिलो फिल्म ‘अनुराग’को असफलताले धेरै कुरा सिकाएको बताउँदै हरेक क्षेत्रमा दोब्बर मेहनतका साथ काम गर्ने बताइन् । एलिजाले यो फिल्मबाट दर्शकको ‘घुइँचो’  लगाउने  बताइन् । सोही फिल्मका अभिनेता कुन्साङ बोमजनले ‘घुइँचो’ फिल्मको अफरको कारण आफु धेरै खुशी भएको जानकारी दिएका छन् । उनले फिल्मको कन्सेप्ट राम्रो लागेको भएर आफुले यस फिल्मको अफर स्वाकार गरेका बताए । उनले सबैजनाको मायाँ र सर्पोको आवश्यक रहेको बताएका छन् । जुम्लाको एक युवाको अमेरिका प्रतिको आशक्तिको कथामा फिल्म बन्दै छ ।