मोफसलका प्रदर्शक र दर्शकलाई ‘महाजात्रा’सँग भरोसा

यो बर्ष रिलिज भएका केही फिल्मले मात्र दर्शकको साथ पाए । तर, ब्लकबस्टर व्यापार भने फिल्म ‘जारी’ले मात्र गर्यो । यो बर्ष रिलिजमा आएका केही विदेशी फिल्मले मात्र हलवालाहरुको खर्च धान्न सके । होइन भने अधिकांशको व्यापार सन्तोषजनक देखिएन । 

यसैले, मोफसलका अधिकांश हलहरुलाई चैत्र ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘महाजात्रा’प्रति भरोसा देखिएको छ । 

पूर्वी नेपालका अधिकांश प्रदर्शकहरुले दर्शकले पनि यो फिल्मप्रति चासो बढी राखेको बताएका छन् । यस्तै, फिल्म हेर्नका लागि दर्शकहरुमा पनि उत्साह देखिएको छ । 

मोफसलका टुरका क्रममा कलाकार तथा मेकरसँगको भेटघाटका क्रममा दर्शकले यो फिल्म हेर्नका लागि आतुर भएको बताए । कतिपय दर्शकले ‘जात्रा र जात्रै जात्रा’ हेरेको जानकारी दिँदै तेस्रो सिरिजको पनि प्रतीक्षा रहेको बताएका छन् । 

बिर्तामोडको क्यूएफएक्स, दमकको डीम्याक्स, पाथीभरा लगायतका हल संचालकहरुले पनि यो फिल्मलाई लिएर दर्शकमा चासो निकै रहेको बताएका छन् । फिल्मलाई लिएर दर्शकको चासो निकै देखिएपछि निर्माणपक्ष पनि उत्साहित छ । 

चैत्र ९ गतेबाट रिलिजमा आउन लागेको फिल्मको चैत्र ६ गते काठमाडौं र चैत्र ७ गते विर्तामोडमा प्रिमियरको तयारी समेत गरिएको छ । 

प्रदीप भट्टराईको लेखन तथा  निर्देशनमा तयार भएको फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, वर्षा राउत, राजाराम पौडेल, दिव्य देव, गौमाया गुरुङ लगायतका कलाकारको अभिनय छ ।

पश्चिम नेपालमा प्रचार सकेर यसको टिम पूर्वी नेपालको प्रचारमा दौडधूप गरिरहेको छ ।