ट्रेलरको आक्रामक प्रतिक्रियापछि विदेशमा धमाधम विक्री हुँदै ‘फर्की फर्की’

ट्रेलर सार्वजनिक भएपछि एकाएक चर्चामा रहेको फिल्म ‘फर्की फर्की’को विदेश अधिकार धमाधम विक्री भइरहेको छ । फिल्मका निर्माता रोहित अधिकारीका अनुसार, ट्रेलर रिलिजपछि विदेशबाट फिल्मको  उच्च माग छ । 

यो फिल्मलाई जापानमा सुभाष लामिछानेले वितरण गर्ने पक्का भएको छ । यस्तै, दक्षिण कोरियामा फिल्मको वितरणको अधिकार नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रा.लिले लिएको छ । 

यस्तै, नेपाली फिल्मका लागि सर्वाधिक राम्रो मानिएको अष्ट्रेलियाको बजारमा ब्ल्याक आई क्रियशनले फिल्म वितरणको जिम्मा लिएको छ । हङकङमा भने फिल्मलाई ओपिजी फिल्मस्ले विक्री गर्नेछ । 

यी बाहेक अन्य देशमा पनि फिल्मको अधिकार विक्रीका लागि कुरा भइरहेको निर्माता रोहित अधिकारीले जानकारी दिएका छन् । 

फिल्मको ट्रेलरले २३ लाख माथिको भ्यूज मात्र पाएको छैन, उत्कृष्ट प्रतिक्रिया पनि पाइरहेको छ । जेठको १० गते नेपालसँगै विदेशका अधिकांश ठाउँमा यो फिल्म रिलिज हुनेछ । 

सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल लगायतका कलाकारको अभिनय छ ।