प्रिन्सी भारततिर, प्रिज्मा नेपालमा एक्लै

जुम्ल्याहा दिदी बहिनी प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडा लामो समयदेखि चर्चामा छन् । टिकटकबाट उदाएका यी दुईले म्युजिक भिडियोमा पनि राम्रै चर्चा कमाए । 

यी दुईले सुरुवातदेखि नै एकसाथ काम गर्दै आएका छन् । कसैले एक जनालाई मात्र भिडियोको अफर गर्दा उनीहरुले स्विकार गरेनन् । यसैले, उनीहरुको हातमा जति भिडियो परे, साथमा काम गरे । 

यी दुईसँगै आएका केही मोडलहरु फिल्ममा पनि पाइला राखिसकेका छन् । तर, यी दुईले भने अहिलेसम्म फिल्ममा काम गर्न लागेको खबर सार्वजनिक भएको छैन । 

दुई जनाबिना काम नगर्ने उनीहरुको अडान अहिले भने टिक्न सकेको छैन । विशेषगरि, प्रिन्सी खतिवडा हिन्दी म्युजिक भिडियोमा बढी व्यस्त हुन थालेकी छिन् । यसैले, उनले भारतमा पुगेर एक्लै भिडियोमा काम गरिरहेकी छिन् । 

प्रिन्सी हिन्दी गीतका भिडियोमा धेरै व्यस्त हुन थालेपछि प्रिज्मा खतिवडालाई समस्या परेको छ । यसैले, उनले पनि प्रिन्सी विना नै भिडियोमा काम गरेकी छिन् । 

सुनिल विकको निर्देशनमा तयार भएको ‘लालसलाम पिरती’ बोलको म्युजिक भिडियोमा प्रिज्मा र नायिका करिश्मा मानन्धरले काम गरेका छन् । 
एकसाथ काम आएको खण्डमा मात्र गर्ने बताउँदै आएका यी दिदीबहिनी अहिले भने अलग–अलग रुपमा काम गर्न थालेका छन् ।