जब केपी ओलीले अभिनय गर्दा गर्दै बत्ती गयो....

मंगलबार दिउँसो करिब ४ घन्टा ढिलो गरि नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा पुगेका पूर्व प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले संवाद बोल्ने तयारी गर्दै थिए । मेकअप गरेर तयार भएपछि केपी ओलीलाई भूमिकाको बारेमा निर्देशक रमित ढुंगानाले जानकारी दिँदै थिए । सोही समयमा बत्ती गयो । 

बत्ती गएपछि केपी ओलीको छायांकन सेड्यूलका लागि मात्र यो फिल्मको प्रोडक्शन हेड बनेका शंकर पाण्डेले चाँजोपाँचो मिलाए । उनले केही समयमै बत्तीको व्यवस्था गरे । पाण्डेको काम गर्ने शैली देखेर अध्यक्ष ओली पनि छक्क परेका थिए । 

एसिड प्रभावितहरूको कथामा तयार भइरहेको फिल्म ‘नमेटिने घाउ’मा अध्यक्ष ओलीले अभिनय गरेका हुन् । उनले, फिल्ममा प्रधानमन्त्रीको भूमिकामा नै अभिनय गरेका छन् । 

निर्देशक ढुंगानाले यसअघि पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, सांसद ज्ञानेन्द्र शाहीलाई पनि फिल्ममा अभिनय गराइसकेका छन् । यो फिल्मको छायांकन देशका विभिन्न स्थानमा गरिएको छ ।